
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूमाथि गरिएको विश्वासलाई निराशामा परिणत हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा भएको जेनजी स्मृति दिवस कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आन्दोलनका क्रममा घाइते तथा शहीद भएका युवाहरूको सम्झना अझै पनि आफूलाई भावुक बनाउने बताए ।उनले आन्दोलनका क्रममा घाइते युवालाई रगताम्य अवस्थामा अस्पताल पुर्याएको र शहीदहरूको शव काँधमा बोकेर पशुपति लैजाँदाको क्षण अझै स्मरणमा रहेको बताए ।‘आज ताली चाहिएको छैन, आज हामीलाई आशा चाहिएको छ,’ उनले भने, ‘गत भदौ २३ गते हामी जसरी मिलेर आन्दोलनमा सहभागी भयौँ, त्यतिबेला रगतले लतपत भएका भाइबहिनीहरूलाई अस्पताल पुर्याएको स्मरण अझै ताजा छ । शहीदहरूलाई काँधमा बोकेर पशुपति लैजाँदाको सम्झनाले अहिले पनि काँध भारी हुन्छ।’गुरुङले घाइते जेनजी युवाहरूले सरकारबाट ठूलो अपेक्षा राखेको उल्लेख गर्दै उनीहरूको विश्वास पूरा गर्न आफूलाई निरन्तर दबाब महसुस हुने बताए ।‘भाइहरू आशाका साथ मकहाँ आउनुहुन्छ । कोही हातविना, कोही खुट्टाविना आउनुहुन्छ । देशमा केही हुन्छ, हाम्रै मन्त्री छन् भनेर जसरी मलाई हेर्नुहुन्छ, त्यसले मलाई सुत्न पनि डर लाग्छ,’ उनले भने, ‘कतै मेरो कमजोरीले केही कमी नहोस्, एक सय दिनुपर्ने ठाउँमा ९९ मात्रै नहोस् भन्ने डर लाग्छ । उहाँहरूले जसरी विश्वास गर्नुभएको छ, त्यसलाई पूरा गर्न आफूले सक्ने हरसम्भव प्रयास गरिरहेको छु । म मात्र होइन, नेपाल सरकार नै निरन्तर लागिरहेको छ।’उनले वर्तमान राजनीतिक परिवर्तन र देशले प्राप्त गरेको निकासको श्रेय जेनजी आन्दोलनका शहीद, घाइते तथा आन्दोलनमा सहभागी युवाहरूलाई नै जाने दाबी गरे ।गृहमन्त्री गुरुङले जेनजी आन्दोलनलाई पुराना दलका नेताहरूले विभिन्न ढंगले व्याख्या गरिरहेकोप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको इतिहास परिवर्तन गर्न कसैले नसक्ने बताए ।‘अचम्म लाग्छ, पुराना दलका साथीहरूले आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरिरहनुभएको छ । म उहाँहरू सबैलाई भन्न चाहन्छु– त्यो इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन,’ उनले भने, ‘इतिहास फेर्ने कोसिस पनि नगर्नुस्।’



























