
काठमाडौं । संविधान दिवस, २०८३ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।संविधान दिवसका अवसरमा देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित नेपाली कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन्।तत्कालीन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको घोषणा गरेका थिए। संविधान जारी भई कार्यान्वयनमा आएको आज ११ वर्ष पूरा भएको छ।नयाँ संविधान लागू भएसँगै नेपालको अन्तरिम संविधान, २०६३ खारेज भएको थियो। संविधान जारी हुँदा संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए।संविधानले सङ्घीयता, धर्मनिरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका व्यवस्था संस्थागत गरेको छ। संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका ५३७ जना सभासद्ले संविधानमा हस्ताक्षर गरेका थिए।‘नेपालको संविधान, २०७२’ मा ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेका छन्।


























