
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्धन पर्वत, बली राजा, गोरु तथा हलिको पूजा आराधना गरी मनाइँदैछ ।कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा गरी सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ । यस दिन घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाई त्यसलाई गोवर्धन पर्वतका रूपमा पूजा गर्ने चलन छ ।द्वापर युगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको स्मरणमा गोवर्धन पूजा गर्ने परम्परा सुरु भएको धर्मशास्त्रमा उल्लेख छ ।त्यस्तै, भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ । यही विश्वासका आधारमा तिहारमा देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा बसेको हो ।वर्षभर खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पूजा गरी मिठा-मिठा खानेकुरा खान दिने चलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन नन्दी अर्थात् साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ ।यसैगरी, वर्षभर गोरु जोत्ने हलि तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ । त्यसैले आजको दिनलाई हलितिहार वा अपभ्रंश हुँदै हलतिहारसमेत भन्ने गरिएको छ ।



























