
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रिमण्डल पुर्नगठनबारे आफूलाई जानकारी नभएको बताएका छन् ।मन्त्री खतिवडाले संसदमा बजेटबारे छलफल भइरहेको बेला मन्त्रिमण्डल परिवर्तनबारे आफूलाई जानकारी नभएको बताएका हुन् ।उनले आफू नियमित काममै रहेको बताए । खतिवडाले डिकुरासँग भने, 'न नयाँ मन्त्री नियुक्त गरेको थाहा छ, न आफू नै पूर्वमन्त्री भएको थाहा छ, यसबारे केही थाहा छैन । बजेट संसदमा पेश भएको छ । छलफल भइरहेको छ । म आफ्नो नियमित काममै छु ।'खतिवडा नेकपा एकीकृत समाजवादीको तर्फबाट स्वास्थ्यमन्त्री भएका हुन्।आइतबार नेकपा एकीकृत समाजवादीले कानुनमन्त्रीबाहेक अन्य पाँच मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो।पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णयसँगै समाजवादी पार्टीका तर्फबाट मन्त्री भएकाहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई यथावत राखिदिन आग्रह गरेका थिए।आइतबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले आफ्ना मन्त्रीहरु रामकुमार झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइ मेटमणि चौधरी, भवानी खापुङ ,जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरको नाम मन्त्रीमा सिफारिस गरेको थियो।पार्टीको निर्णयविरुद्ध आफ्ना मन्त्रीहरुले प्रचण्ड र प्रधानमन्त्री देउवासँग यथावत रहन दिएको दबाबप्रति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्।




























