काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकार यातायात व्यवस्था विभागले जारी गरेकाे निर्णय तुरुन्तै खारेज गर्दै देवनागरी लिपीमा नै इम्बाेस्ड नम्बर राख्न माग गरेकाे छ ।गत शुक्रबार यातायात व्यवस्था विभागले जारी श्रावण १ गते भित्र अनिवार्य रूपमा सबै सवारी साधनहरूमा अनिवार्य रूपमा अङ्ग्रेजी भाषाकाे राेमन लिपीमा लेखिएको इम्बाेस्ड नम्बर प्लेट राखि सक्नु पर्ने र अन्यथा ट्राफिक प्रहरीले कारवाही गर्ने चेतावन दिएकाे निर्णयकाे विराेध गर्दै विद्यार्थी परिषद्ले मंगलबार विज्ञप्ति निकालेकाे छ ।
विज्ञप्तिमा भनिएको छ ” नेपालको राष्ट्रिय भाषालाई नेपाल सरकारले प्रयोग नगरे कसले गर्छ । नेपाली भाषाको सम्मान नेपालमा हुन नसके कहाँ हुन्छ नेपालको संविधान २०७२ को धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ । नेपालको संविधान विपरित सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गर्ने र इम्बोस्ड नम्बर प्लेटको जडान गर्ने सम्बन्धमा गत शुक्रबार राजपत्रमा प्रकाशित सूचना अनुसार श्रावण १ गतेदेखि गण्डकी र वाग्मती प्रदेशमा सञ्चालन हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटको प्रयोग अनिवार्य लगाउनु पर्ने र यदि इम्बोस्ड नम्बर प्लेटको प्रयोग नगरेको खण्डमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गर्ने जस्तो राष्ट्रहित विपरित, असंवैधानिक र अव्यावहारिक निर्णयप्रति प्राज्ञिक विद्यार्थी परिषद, नेपाल गम्भीर आपत्ति प्रकट गर्दछ ।