सिमकोट । जिल्ला अस्पताल हुम्लामा संचालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट ४३७ जना लाभान्वित भएका छन् । मंगलबार उनीहरुको निःशुल्क उपचार गरिएको छ भने आज ३६ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गरिनेछ ।तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, स्वास्थ्य सेवा कार्यालय, जिल्ला आँखा उपचार केन्द्र, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा हुम्लाको आयोजनामा सो शिविर भएको हो । शिविरबाट सिमकोट, खार्पुनाथसहित अन्य छिमेकी गाउँपालिकाका साथै सदरमुकाम सिमकोटमा बसोबास गर्ने आँखाका बिरामीले उपचार पाएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताए ।यस्तै २६ गते जिल्ला उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा निःशुल्क आँखा शिविर संचालन हुने भएको छ । दुर्गम जिल्लाका नागरिकको निःशुल्क उपचारका लागि तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ चिकित्सक गोविन्द पौडेलसहितको टोलीले उपचार गर्नेछ । शिविरमा मोतियाविन्दु, मासु पलाएकोलगायत रोगको निःशुल्क शल्यक्रियासहितका आँखासम्बन्धी उपचार निःशुल्क प्रदान गरिएको थियो ।