काठमाडौँ । नुवाकोटको बञ्चरेडाँडाका स्थानीय र प्रहरीबीच फोहोर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने स्थानीयले ढुंगामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन्।प्रहरीले अवरोध सिर्जना गर्नेहरुमध्ये १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।सोमबार राति शहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहोर फ्याँक्न दिने सहमति भए पनि स्थानीयले बुधबार अवरोध गरेका हुन्।काठमाडौँका फोहोर बोकेर त्यहाँ गएका सवारी साधनहरु बाटैमा रोकिएका छन्।
मंगलबार भने सुरक्षाकर्मीहरुको सहयोगमा फोहोरका ट्रक बञ्चरेडाँडामा खालि गरिएका थिए।सोमबार राति सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, ललितपुरकी उपमेयर मञ्जली शाक्यलगायत सम्बन्धित गाउँपालिका र नगरपालिकाका अध्यक्ष र मेयरहरु तथा पदाधिकारीहरु मिलेर फोहोर फाल्न दिने सम्झौता गरिएको थियो। यद्यपि बुधबार स्थानीयले अवरोध गरेका छन्।