काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गरी किताब छाप्ने जिम्मा निजीलाई दिन प्रस्ताव गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा किताब छापेर दिने जिम्मेवारी पूरा गर्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेजीको माग गरेकी हुन् ।“कक्षा ६ र आठको पुस्तकको अभाव छ, किन पुस्तकको अभाव भयो, जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक पाएनन्,” सांसद अनेरास्ववियुकी पूर्वअध्यक्षसमेत रहेकी सांसद लामाले भनिन्, “यदि, छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र किन चाहियो ? सरकारले किन पैसा दिइरहने ? खारेज गरौँ ।”उनले जनक शिक्षाले पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षाका उच्च व्यवस्थापकले जिम्मेवारी दिनुपर्ने बताइन् । “यो कमजोरीको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले लिनुपर्दैन ? उहाँहरू जवाफदेही बन्नुपर्दैन ?,” लामाले थपिन्, “बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो ? कागजको ठेक्का लिनेले किन कागज ल्याएनन्, कारबाही गर्नुपर्छ ।” उनले वैकल्पिक व्यवस्थाबारे सोचेर निजीलाई दिनुपर्ने र समयमा पाठ्यपुस्तक पठाउनुपर्ने बताइन् ।