काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन् । दुई दिन पहिले सचिवालय प्रमुखलाई राजीनामा बुझाएको उनले बताइन् ।राजीनामा बुझाउने मान्छे कोही नभएपछि सचिवालय प्रमुखलाई बुझाएको बताइन् । “अहिले पार्टीमा कोही छैन । त्यसैले सचिवालय प्रमुखलाई राजीनामा बुझाएकी हुँ,” उनले भनिन् ।
स्थानीय तह निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको र पार्टीमा मुख्य पदधारण गरेका व्यक्तिहरुले बिगारेको इमेजको कारणले राजीनामा दिएको उनको भनाइ छ ।“यसपटकको चुनावी नतिजा सबैले देखेकै छन् । म पहिला ५ नम्बर क्षेत्रबाट तराजु लिएरै उठेको हो । पहिलोपटक उठ्दा धरै साथ सहयोग पाएकी थिएँ । ५५ सय भोट पाएको पनि हो । पार्टीमा राम्रो सम्बन्ध थियो,” श्रेष्ठले भनिन्, “वैकल्पिक पार्टी वैकल्पिक शक्ति भनेर हामी लागिरह्यौँ । अहिले आएर दुई टुक्रा भएपछि हाम्रा माथिल्ला नेताहरुले बनाएको इमेजले आम जनतामाझ ठुलो प्रभाव पार्यो । साना पार्टीहरुले चुनाव चिह्न पाउनुपर्छ भनेर लडिरहेको बेलामा पार्टीमा मुख्य पदधारण गरेका व्यक्तिहरुले यति ठुलो गल्ती गरे ।” अहिले पार्टी एक स्टेप पनि अगाडि बढ्न नसक्ने अवस्थामा रहेको उनले बताइन् । त्यसैले छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।“पार्टीलाई अनिर्णयको बन्दी र केही पनि उपलब्धि नहुने भएपछि केन्द्रीय समितिको सदस्य बसिरहनु ठिक छैन । त्यो भन्दा पार्टी ल्याग्नु नै उचित हुन्छ भनेर त्यागेको हो,” उनले भनिन् । उनले अब आफूले के गर्ने भन्नेबारेमा निर्णय गरिनसकेको बताइन् ।