विराटनगर । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक स्थायित्वका लागि दुई पार्टी प्रणालीमा जानुपर्ने बताएका छन् ।बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले साना दलले मौका हेरेर सरकार परिवर्तन गर्ने हुनाले स्थायीत्वका लागि दुई पार्टी प्रणालीमा जानुपर्ने बताएका हुन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजाले पनि यस्तै संकेत गरेको उनको भनाइ छ ।नेता राईले प्रदेश १ मा गन्तव्य नभएको सरकारले आफूजस्तै बजेट ल्याएको टिप्पणी गरे । अहिलेको सरकारले आफ्ना मान्छेलाई खुसी पार्ने तर्फ उद्दत रहेको भन्दै राईले चुनावलाई केन्द्रमा राखेर बजेट छरिएको जिकिर गरे ।निर्वाचनमा पैसा वितरण गर्ने उद्देश्यले बजेट आएको भन्दै नेता राईले सबै वडामा वर्थिङ सेन्टर स्थापना गर्नु असम्भव रहेको बताए ।उनले प्रदेशको नाम आफू मुख्यमन्त्री हुँदा राख्न नपाएको अफसोच रहेको बताए । उनले केही दिनभित्र प्रदेशको नामको विषयमा सहमति हुने पनि बताए ।सरकारले प्रदेशसभाको चालु अधिवेशनबाट नाम राख्ने प्रतिवद्धता नजनाएपछि आफूहरुले पहल सुरु गरेको राईको भनाइ छ ।