काठमाडौं : नेकपा माओवादी केन्द्रका अर्थ तथा योजना विभाग प्रमुख वर्षमान पुन (अनन्त)ले नेप्से परिसूचक लगातार ओरोलो लाग्नु सुखद नभएको बताएका छन्। शुक्रबार साँझ पार्टी अर्थ तथा योजना विभागले गरेको स्थानीय तहका जनप्रतिनिधि सहभागी भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो समय शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा लगानीकर्ता निरास भएको बताएका हुन्।उनले एक वर्षअघि ३२ सय बिन्दुमा रहेको नेप्से १ हजार ९ सय बिन्दुमा झरेको भन्दै उनले लगानीकर्ता निरास भएको स्पष्ट पारे। आगामी दिनमा व्यापार घाटा र बैंक तथा वित्तिय संस्थाको खराब कर्जा थप बढ्नुका साथै खाद्य संकट उत्पन्न हुनेतर्फ सरकार समयमै गम्भीर हुनुपर्नेमा उनले जोड दिए। रुस–युक्रेन युद्धपछि ६० भन्दा बढी मुलुकले खाद्यान्न निर्यातमा रोक लगाएको चर्चा गर्दै पुनले अफ्रिका महादेश खाद्य संकटको चपेटामा परिसकेको बताए। नेपाल पनि सम्भाव्य खाद्य जोखिममा पर्न सक्ने संकेतहरु देखिएको पुनले उल्लेख गरे।पूर्वअर्थमन्त्री पुनले कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएको र नेपाली अर्थतन्त्र पनि त्यसको मारमा परेको स्पष्ट पारे। पुनले व्यवसायीले रकम खराब लगानीमा खर्चिएका कारण पनि अर्थतन्त्रमा नकारात्मक असर धारणा राखे। ‘चुलिँदो वैदेशिक व्यापार घाटा, बैंकिङ क्षेत्रले कोरोनाकालमा सहुलियतमा जारी गरेको कर्जा र पुनकर्जा कार्यक्रमको रकम व्यवसायीले खराब लगानीमा खर्चिएका कारण पनि अर्थतन्त्रमा नकारात्मक असर परेको हो। ’उनले भने,‘विप्रेषण आप्रवाहमा कमी, आयातमा वृद्धि, हुण्डीसहित अवैध माध्यमबाट कारोबार, बढ्दो सोधनान्तर घाटा, उच्च मूल्य वृद्धि, घट्दो वैदेशिक मुद्रा सञ्चितीले समग्र अर्थतन्त्र र जनजीवनमा गम्भीर प्रभाव पारेको छ।’उनले माओवादीले जितेका स्थानीय तहमा तल्लो वर्गलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट निर्माण गर्न निर्देशनसमेत दिए। माओवादीबाट निर्वाचित महानगर, उपमहानगर र गाउँपालिकाका प्रमुख/उपप्रमुखलाई समाजवादका आधार निर्माण गर्ने गरी बजेट बनाउनुपर्ने बताए।