काठमाडौं । कार्यविधि नबन्दै पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा। बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गृह मन्त्रालयबाट गाडी सुविधा लगिसकेका छन् ।मन्त्रिपरिषदबाटै निर्णय गराएर यस्तो सुविधा दिइएको हो । खनालले गत वर्ष केपी ओली सरकारकै पालामा गाडी लिएका हुन् । त्यस्तै, रेग्मीले ०७८ भदौ र भट्टराईले ०७८ मंसिरमा गाडी लिएको गृह मन्त्रालयको विवरणमा उल्लेख छ । रेग्मीले त सर्वोच्च अदालतबाट पनि गाडी सुविधा लिइरहेका छन् ।तीनैजनालाई सरकारले करिब ६० लाख रुपैयाँ पर्ने स्कार्पियो गाडी खरिद गरेर दिएको हो । उनीहरूले चालक पनि सरकारी नै लिएका छन् । रेग्मीलाई त अधिकृतस्तरको एक सहयोगीसमेत दिने निर्णय गरिएको छ । ‘मन्त्रालयबाट तीनजनाले गाडी लिनुभएको छ,’ गृहका एक अधिकारीले भने, ‘अरू पूर्वप्रधानमन्त्रीहरूले पनि अन्य निकायबाट सरकारी गाडी लिएका छन् भन्ने सुनिन्छ ।ठ्याक्कै के हो भन्न सकिन्न ।’ पूर्वप्रधानमन्त्री मात्र नभई पूर्वसभामुख, पूर्वगृहमन्त्रीहरूले समेत गोप्य रूपमा विभिन्न मन्त्रालयका गाडी प्रयोग गर्दै आएको स्रोतको भनाइ छ । सुवास नेम्वाङलगायत केही पूर्वसभामुखले पनि मन्त्रिपरिषद्बाट निर्णय गराएर गाडी, इन्धन, चालकलगायत सुविधा लिँदै आएका छन् ।