काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा विभाजनको हिस्सा आफू पनि भएको स्वीकार गरेका छन् । आज पार्टीको घोषणासहित नेकपा पुनर्गठन गर्ने प्रतिबद्धता जनाउँदै त्यस्तो बताएका हुन् ।“मैले पार्टी विभाजन गरेको होइन । म हिस्सा स्वीकार गर्छु । सचिवालयमा ठीक बेठीक छुट्याएर अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्थेँ,” उनले भने, “उहाँहरूले मान्नुपर्थ्यो । बाहिर हेर्दा हाम्रो पार्टी छ, भित्र छैन भन्ने सुझाव दिन्थेँ ।” सोही पार्टीमा रहेकाले विभाजनमा आफ्नो भूमिका रहेको पनि उनले सुनाए ।उनले कम्युनिस्ट आन्दोलन धराशायी हुने देखेपछि पार्टी एकता अभियानमा जुटेको उनले बताए । “अब म चुप लागेर बस्न हुन्न । कम्युनिस्ट आन्दोलन धराशायी भएको हेर्नुपर्ने स्थिति सिर्जना भएको छ ,” उनले भने । यदि, कम्युनिस्ट पार्टीहरूको एकता वा कार्यगत एकता भएन भने आगामी निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत ल्याउने गर्ने वा पहिलो पार्टी हुने बताए ।पाँच वर्षपछिको निर्वाचनमा भने कांग्रेसलाई गठबन्धनको आवश्यकता नपर्ने उनको भनाइ छ । तत्कालीन नेकपा नफुटेको भए स्थानीय चुनावमा पनि पहिलो पार्टी बन्ने उनको भनाइ छ ।