काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री प्रकरणमा छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् उपसभापति गुरुङले बजेट निर्माणको क्रममा 'बिचौलियलालाई प्रवेश गराएको' विषयमा छानबिन हुनुपर्ने बताएका हुन् ।छानबिन समितिलाई सहयोग गर्न अर्थमन्त्री जनार्दन शरेमाले राजीनामा दिनुपर्ने उनको भनाइ छ । नभए बर्खास्त गर्नुपर्ने उनले बताए । 'गैर संवैधानिक कार्य गर्नेहरूका लागि सिसि क्यामरामार्फत् निगरानी गरिन्छ,' उनले भनेका छन्, 'सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ।
विवाद समाधानका लागि:
१) छानबिन समिति गठन
२) छानबिन समितिलाई सहयोगका लागि राजीनामा
३) बर्खास्त!'आजै कांग्रेसका अर्का उपसभापति पूर्णबहादुर खड्काले पनि 'अर्थमन्त्री प्रकरण'बारे संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका थिए ।यसबारे ढिलो नगरी आजै संसदीय समिति बनाएर टुंगो लगाउनु पर्ने उनको भनाइ छ । आजै प्रतिनिधि सभा बैठक बस्दै छ ।
बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत मान्छेलाई प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको छ । यसबारे प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि छानबिन समिति बनाएर जानुपर्ने माग राख्दै आएको छ । अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न पनि माग उठिरहेको छ ।यसअघि कांग्रेस महामन्त्री गगन थापाले समेत अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका थिए ।