काठमाडौँ — प्रदेश र स्थानीय तहलाई कसरी कमजोर पार्ने भन्ने विषयमा केही नेता लागिरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । उनले संघीयता खारेज गरेर राजतन्त्र ल्याउन खोज्नेहरूले त्यस्तो प्रयास गरिरहेको बताएका हुन् ।बिहीबार नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा सम्बोधन गर्दै दाहालले परिवर्तनलाई उल्ट्याएर पुरानै निरंकुश शासन व्यवस्था ल्याउनका लागि त्यस्ता प्रयास भइरहेको बताएका हुन् । 'केही नेताहरू खुलेआम संघीयता खारेज गर्नुपर्छ भनिरहेका छन् । त्यहाँ जाने भनेको निरंकुश राजतन्त्रतिर नै हो । अधिकार तल दिने वातावरण बनाउनुपर्छ । तर ती ऐन रोक्ने काम भइरहेको छ,' उनले भने ।