सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाईँले सबै देशभक्त सचेत नागरिक एकजुट भए अहिलेको पूरानो व्यवस्था भत्काउन एक वर्ष पनि समय नलाग्ने बताएका छन् । उनले मानिसले समयअनुसार विचार बुझ्न नसके त्यसको कुनै अर्थ नहुने बताए ।
उनले अब देशमा भएको पुरानो सिस्टम र पुरानो परम्परा तोड्न सबै मिलेमा १ वर्षमात्र लाग्ने जिकिर गरे । उनले भने,‘सबैमा भएका साना/साना अहंकारमा अडियो भने उद्देश्य सफल हुँदैन्, सबैले अहंकार छाड्न जरुरी छ । देशको अवस्था २००७ सालदेखि २०१५ सालमा जुन अवस्थामा थियो अहिलेपनि त्यही हालत छ ।’ उनले देशको राष्ट्रियतामाथि खतरा उत्पन्न भएको भन्दै उनले भने,‘देशको अस्तित्व कुनै पनि बेला निमिट्यान्न हुनसक्ने स्थिति आएको छ । पश्चिमको महाशक्तिदेखि लिएर उत्तर दक्षिणका शक्तिले डिजाइन गरिसकेका छन् ।’उनले अब देशको निम्ति लागेका सबै अभियन्ताहरु, शक्तिहरु महाशक्ति निर्माणको लागि लाग्नुपर्नेमा जोड दिए । प्रसाईँले माओवादी, नेपाली कांग्रेस सबैले जनताको नाममा राजनीति गरेपनि उनीहरुको मुद्दा छाडेर उद्योगपतिहरुसँग साँठगाँठ गरेको आरोप लगाए । उनले माओवादीले विचौलिया ल्याएर विदेशीको लागि आगामी आर्थिक वर्षको बजेट निर्माण गरेकोसमेत टिप्पणी गरे ।अब देशको सेना शक्तिशाली बनाउनुपर्ने अवस्था आएको भन्दै देशको विकासको लागि सेना शक्तिशाली बन्न पर्ने उनले धारणा राखेका छन् ।
देशको विकासको लागि संसदीय व्यवस्था खारेजी हुनुपर्ने उनको भनाई थियो । उनले आफुहरुले राइट–टु–रिजेक्ट एण्ड रिकललाई पनि प्रतिस्थापना गर्न खोजेको स्पष्ट पारे । उनले भने,‘प्रत्येक संवैधानिक आयोगका आयुक्त, न्यायाधीशसहित सबैलाई राइट–टु–रिजेक्ट गर्न र जतिबेलापनि बोलाउन सकिने व्यवस्था गर्न स्थापना गर्न खोजिरहेका छौं ।’देश एकदमै नाजुक र संवेदनशील अवस्थामा पुगेको भन्दै उनले सबै देशप्रेमीहरुलाई एकजुट आग्रह गरे । आगामी सोमबार सर्वपक्षीय भेलाले पार्टीको नाम, झण्डा र नेतृत्व चयन गर्ने पनि जानकारी दिए ।