काठमाडौं - नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देश कुशासनले ब्याप्त रहेको टिप्पणी गरेका छन । देशहितको लागि आफुहरुको मात्र एउटा समुह रहेको पनि उनले दाबी गरे । उनले देश विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले भने,‘सबै देशभक्तहरु आ–आफ्नो तालमा हिँड्ने हो भने देशको कहिल्यै पनि विकास हुँदैन् ।’ खरेलले ९५ प्रतिशत जनताले अहिलेको व्यवस्था परिवर्तन गर्न खोजेको जिकिर गरे ।उनले देशका २ करोड ९२ लाख जनता अहिलेको कुशासनबाट आजित भएको उल्लेख गरे । अहिलेको व्यवस्थाबाट ५ प्रतिशत जनताले मात्रले फाइदा लिइरहेको उनको भनाई थियो । उनले राम्रा–राम्रा मानिसहरुको एउटा टिम निर्माण गर्न आगामी सोमबार सर्वपक्षीय भेलाको आयोजना गर्न लागिएको जानकारी दिए । खरेलले अब सबै मिलेर सुशासनको एजेण्डा लिएर जनतामाँझ जाने पनि बताए ।उनले देशलाई माया गर्ने समुह, सबै पार्टीमा असन्तृष्टि भएकाहरु व्यक्तिहरु सबैले अब आफ्नो विचार बास्केटमा राखेर एकताबद्ध हुनुपर्नेमा जोड दिए ।आफूहरु देशका विशिष्ट व्यक्तिहरुको सल्लाह र सुझावमा अघि बढ्ने प्रतिवद्धता गर्दै उनले भने,‘सबै साना÷ठुला देशलाई माया गर्ने एक ठाउँमा आउनुहोस्, कुन चुनाव चिन्ह् चाहानुहुन्छ सोहीअनुसार अघि बढौ ।’