काठमाडौं– पोखरामा देशभरका महानगरपालिकाका मेयरको सम्मेलन हुने भएको छ। यही साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो।महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्न कार्यक्रम राखिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।आचार्यले १ महिनाअघि मेयर सम्मेलनका लागि निम्तो गरेका थिए। सबै महानगरका मेयरसँग छलफल गरेर भेला आयोजना गरिएको उनले बताए। ६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पुरानै मेयर (चिरिबाबु महर्जन र रेणु दाहाल) छन् भने अरुमा नयाँ मेयर निर्वाचित भएका छन्। पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने विश्वासका साथ सम्मेलन आयोजना गर्न लागिएको आचार्यको भनाइ छ।६ वटा महानगरमध्ये काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर बालेन्द्र शाह छन् भने विराटनगरमा कांग्रेसबाट निर्वाचित भएका नागेश कोइराला छन्। त्यसैगरी वीरगन्जमा जसपाका राजेशमान सिंह निर्वाचित भएका छन्।