कास्की - सराङकोट बहुउद्देश्यीय सहकारी संस्था र सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको संयुक्त आयोजनामा सोमबार सराङकोटमा लालीगुराँसका बिरुवा सारिएको छ । कार्यक्रममा ८० बिरुवा रोपेको सहकारीका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको खाली जग्गाको सौन्दर्यकरणसँगै सहरी क्षेत्र वरपर लालुपाते र अग्ला डाँडामा लालीगुराँस रोप्ने अभियानलाई महानगरले सहयोग गर्ने बताए । सहकारीका अध्यक्ष थापाले सहकारीको संस्थागत सामाजिक उत्तरदायित्व तथा वातावरणमैत्री कार्यक्रम अन्तर्गत सराङकोटको शीर (टप) शिव मन्दिर, भ्युटावर वरिपरि लालीगुराँस रोपेको उल्लेख गरे । उनले राष्ट्रिय फूल लालीगुराँसको सरक्षण र विकासका लागि अभियान थाल्ने बताए ।अभियन्ता ढाकाराम लामिछानेले पहिलो चरणमा ११ प्रजातिका लालीगुराँसका बिरुवा रोपेकोे जानकारी दिए । उनले अभियानलाई व्यापक बनाई नेपालमा पाइने ३२ प्रजातिका बिरुवा खाली जग्गामा रोप्ने सुनाए । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले सामुदायिक वन तथा खाली रहेका डाँडा पाखामा लालीगुराँस रोपेर संरक्षण गर्न सके सौन्दर्यकरणसँगै राष्ट्रिय फूलको महत्व बढ्ने जनाए ।कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिना, सराङकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसी, संस्थाका सल्लाहकारहरु कमलनयन गौतम, सोभियतबहादुर अधिकारी र ईन्द्रकमल मानन्धर, संस्थाका सचिव कमलप्रसाद सुवेदी, सहसचिव मायाकुमारी शर्मा लगायतले बोलेका थिए ।