काठमाडौं । अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साह र र्यापर ‘यम बुद्ध’ को चर्चा खुबै छ ।स्वर्गीय भइसकेका र्यापर ‘यम बुद्ध’ लाई बालेन साहले बारम्बार सम्झि रहेका छन् । यसैले चर्चा छ ।र्यापर ‘यम बुद्ध’ को शालिक बनाउँने विषय चर्चामा सेलाउँन नपाउँदै साढे एक करोड महानगरपालिकाको बजेट खर्चेर र्यापर ‘यम बुद्ध’ को नाममा पार्क बनाउने काम अघि बढेको तथ्य बाहिर आएको छ ।र्यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका–१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पुष्टि गर्नुभयो ।उहाँका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया नै थालिएको हो।‘नयाँबजारको जग्गामा पार्क बनाउने निर्णय गरिएको हो,’ मानन्धरले भन्नुभयो, ‘ त्यहाँ सात रोपनी क्षेत्रफलको जग्गा छ। त्यो सबै क्षेत्रफलमा पार्क बन्छ वा बन्दैन, टुंगो लागेको छैन।’प्रवक्ता मानन्धरका अनुसार उक्त पार्क निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ।यम बुद्धको नाममा बन्ने पार्कमा अरू पार्कमा हुने सुविधा सबै हुने मानन्धरले बताउनुभयो ।‘अरू पार्कमा जे–जति सुविधा हुन्छ, यो पार्कमा पनि हुन्छ,’ उहाँले भन्नुभयो, ‘अहिले बच्चाहरू खेल्नका लागि स्केटिङ पार्क पनि बनाउने योजना छ। अरू त सबै पार्कमा हुने कुरा भइहाल्छन्।’यसअघि यम बुद्धको शालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो। उक्त निर्णयले महानगर विवादित समेत बनेको थियो। पछि मेयर बालेन साहले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गर्नुभएको छ । त्यो कार्यन्वयन हुन्छ या हुन्न हेर्न बाँकी छ ।अहिले बजेटमा थप्ने क्रममा नयाँ कार्यक्रम राखी उक्त कुरा थपेर बजेट ल्याएइको छ ।‘पार्कमा आवश्यकता अनुसार जे पनि हुन्छ,’ उहाँले भन्नुभयो, ‘पार्कभित्र र्यापर यम बुद्धको शालिक पनि हुन सक्छ।’यम बुद्ध नेपालका चर्चित र्यापर हुनुहुन्थ्यो । उहाँले केही वर्षअघि बेलायतको लन्डनमा आत्महत्या गर्नुभयो । उहाँका गीत अहिलेपनि धेरै नेपालीका मन मस्तिष्कमा बसेका छन् ।