काठमाण्डौ - संयुक्त नागरिक आन्दोलनका सदस्य अर्जुन पौडेल पक्राउ परेका छन् । आज साँझ प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा अन्तरवार्ता दिएर निस्कने क्रममा काठमाण्डौको कात्यानी चोकबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुले कार्यक्रम जनता जान्न चाहन्छन्मा नागरिकता विधेयकलगायतका विषयमा सरकारको आलोचना गरेका थिए । कार्यक्रममा विप्लव खड्का र सोम शर्मा पनि सहभागि थिए । उनीहरुले ऋषि धमलासँग अन्तरवार्ता दिएलगत्तै प्रहरीले पक्राउ गरेको हो । अन्तरवार्तामा सहभागि सोम शर्माले पक्राउ पर्ने गरी कुनै अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।तीन जना युवाहरुले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका थिए ।
नागरिकता विधेयक र एमसिसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् । प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँ जस्ता नारा लगाउँदै युवाहरू विरोधमा उत्रिएका हुन् ।