काठमाडौं - लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसद्बाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ हालै पारित भएको हो। संघीय संसद्बाट पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र कानुनमा परिणत हुन्छ।संघीय संसद्का दुवै सदनबाट पारित भए पनि अझै नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको छैन। सम्भवतः आइतबारसम्म उक्त विधेयक प्रमाणीकरणका लागि शीतल निवास पुग्नेछ।नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा पुगेपछि सिधै प्रमाणीकरण गर्ने कि सदनमा फिर्ता पठाउने भन्ने द्विविधामा राष्ट्रपति विद्यादेवी भण्डारी छिन्। संघीय संसद्का दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीमाथि स्वाभाविक दबाब परेको छ भने त्यसमा रहेका केही प्रावधानलाई लिएर प्रमुख प्रतिपक्षी एमालेका साथै विभिन्न पक्षबाट विरोध भइरहेको छ। विधेयकमा रहेका केही प्रावधान संशोधन गर्न राष्ट्रपतिले भूमिका खेल्ने धेरैको अपेक्षा छ। संसद्बाट पारित भइसकेको विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यता राष्ट्रपतिलाई हुन्छ। तर प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूले यसको विरोध गरेकाले राष्ट्रपतिमाथि द्विविधासहितको दबाब देखिएको छ।राष्ट्रपति कार्यालयका अनुसार विधेयक सिधै प्रमाणीकरण गर्ने वा फिर्ता पठाउने भन्नेमा अनौपचारिक छलफल भइरहेको छ। एकातिर नागरिकता विधेयक राष्ट्रपतिले रोकिदिए हुने भन्ने आवाज उठेको छ भने अर्कातिर सरकार तत्काल उक्त विधेयक प्रमाणीकरणको प्रतीक्षामा छ। निर्वाचन मिति घोषणाअगावै सो विधेयक प्रमाणीकरण होस् भन्ने चाहना सत्तारूढ गठबन्धनको छ। गत मंगलबार राष्ट्रपति भण्डारीले सम्पादक–प्रकाशकहरूसँगको छलफलमा अहिलेकै अवस्थामा विधेयक प्रमाणीकरण नगर्ने संकेत गर्दै आफूले अध्ययन गरेर मात्र निर्णयमा पुग्ने बताएकी थिइन्। उक्त छलफलमा राष्ट्रपति भण्डारीले सिधै प्रमाणीकरण गर्ने मनशाय नराखेको बुझिएको थियो।