
काठमाडौं - सचेत नेपाली पार्टीका अध्यक्ष तथा स्वतन्त्र राजनीतिक शक्ति नेपालका निर्वाचन परिचालन समितिका संयोजक पुण्यप्रसाद प्रसाईले पनि आज उम्मेद्धवारी घोषणा गरेका खरेल र श्रेष्ठ दुवैलाई चुनावी सफलताको लागि शुभकामना दिए ।सम्बोधनको सुरुवातमै प्रसाईले भने,‘७० करोड भनेपछि तपाईँ कसलाई सम्झिनुहुन्छ ?’ पत्रकार सम्मेलनमा उपस्थित् व्यक्तिहरुको जवाफ थियो–‘गोकुल बाँस्कोटा ।’ लगत्तै प्रसाईले थपे–‘हो, त्यही ७० करोड घोटाला गर्नेको क्षेत्रबाट हाम्रो गंगालालजी उठ्दै हुनुहुन्छ । अर्को, सुडान घोटाला काण्डका नायक, तिनका विरुद्ध ओमप्रकाशजीले उम्मेद्धवार दिँदै हुनुहुन्छ ।’उनले आफूहरुको मुख्य उद्देश्य भनेको गलत मान्छे र नीतिलाई विस्थापन गर्ने रहेको सुनाए । उनले भने,‘हाम्रो मुख्य उद्देश्य भनेको इमानदार व्यक्तिलाई संसद्मा पुर्याउने हो । भ्रष्टाचार र बेथिति निर्मूल होस भन्ने चाहानुहुन्छ भने र बच्चाले निःशुल्क पढ्न पाओस भन्ने चाहनुहुन्छ भने ईमानको राजनीति गर्नेलाई संसद्मा लैजान जरुरी छ ।’
उनले विगत ७० वर्षदेखि देश लुटिएको पनि टिप्पणी गरे । उनले रमेश खरेलको पनि खुलेर प्रशंसा गरेका थिए । खरेलको इमानदारितको बारेमा कसैले पनि अविश्वास गर्न नसक्ने उनको दाबी थियो ।उनले थपे–‘हामी हरेक व्यक्ति ईमानदार छौं । गंगालालजी त रिक्सा लिएर देशव्यापी हिँड्नुभएको छ । क्रान्तिको विगुल फुक्नुभएको छ। झापामा लड्ने ओमप्रकाशजी पिएचडी स्कलर हो । दर्जनौं पुस्तक लेख्नुभएको छ ।’ सो क्रममा उनले अहिले इमानदार मान्छे खोज्न साह«ै मुश्किल रहेको सुनाए । उनले भने,‘म कसैलाई पनि हत्तपत्त विश्वास गर्दिनँ ।’




























