
प्राचीन सहरको रुपमा परिचित बनेपा ( भ्वतः)को ऐतिहासिकता चिनाउन माघे संक्रान्तिको दिनमा सांस्कृतिक महोत्सव हुने भएको छ । दरबार, चोक, मन्दिर र वनको आफ्नो महत्व भए पनि प्रचार अभावले ओझेलमा परेपछि यहाँका युवाले बनेपालाई चिनाउन महोत्सव गर्न लागेका हुन् ।पूर्वमा ’रक्तचन्दन’ भनिने चण्डेश्वरी जङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल र दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट करिब २५ किलोमिटरमा अवस्थित ऐतिहासिक सहर भएको इतिहासकार ज्ञानकाजी मानन्धरले बताउनुभयो ।पूर्व समुद्री सतहदेखि चार हजार ८०० फिट उचाइमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगरी बनेपा हो । काभ्रे जिल्लाको मात्रै नभएर पूर्वी नेपाल जाने ढोकाको परिचय पाएको बनेपा हो ।यस नगर क्षेत्र पूर्वमा चण्डेश्वरीखोला, पश्चिमबाट दक्षिण हुँदै पूर्वतिर बगिरहेको पुण्यमाताखोला, पहाड र पर्वतसहित ससाना गाउँले घेरिएको साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतीका बीचमा छ ।बनेपाको प्रचार विश्वसामु चिनाउन महोत्सव आयोजना गर्न लागेका युवा उद्यमी मञ्च काभ्रेका अध्यक्ष सरोजकाजी श्रेष्ठले बताउनुभयो । उहाँले स्थानीय तह, संघ संस्था उद्योगी व्यापारीको सहयोगबाट महोत्सव आयोजना गर्न लागेको बताउँदै यसले बनेपालाई आन्तरिक र बाह्य पर्यटक आकर्षण गराउने आधारशिलाको रुपमा स्थापना गर्ने दाबी गर्नुभयो ।बनेपा शब्दको आफ्नो महत्व छ । नेपालभाषामा ‘बने’ ले व्यापार र ‘पा’ले बस्ती भन्ने बुझाउँछ । त्यसैले बनेपा व्यापारीहरूको थलो रहेको यसको सांस्कृतिक पक्ष निक्कै बलियो रहेको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको दाबी छ । Source :Gorkhapatra



























