
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज शुक्रबार आयोजित एक समारोहबीच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराउनुभयो ।मुख्यमन्त्रीले शपथ लिएपछि यादवसँगै तीन जना अन्य मन्त्रीले शपथ लिनुभएको छ । नेकपा (एमाले) का तर्फबाट एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीको तर्फबाट सञ्जयकुमार यादव र जनमत पार्टीको तर्फबाट वसन्त कुशवाहाले शपथ लिनुभयो । तीनै जनालाई प्रदेश प्रमुख मिश्रले शपथ गराउनुभयो । मुख्यमन्त्री यादवले शपथ लिएपछि कार्यक्रममा सहभागी प्रदेश प्रमुख मिश्र, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत, जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवसहित मञ्चमा आसीन अतिथि र कार्यक्रममा सहभागी भएका पूर्व मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु र कर्मचारीले बधाई तथा शुभकामना दिनुृभएको थियो ।मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेपछि जनकपुरधामको प्रवेशद्वारमा निर्माण गरिएको मधेश आन्दोलनका शहीदहरुप्रति माल्यार्पण गरेपश्चात् आजै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गएर पदभार ग्रहण गर्नुहुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । Source;Gorkhapatra




























