नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।ग्रेट हल अफ दि पिपुलमा भएको द्विपक्षीय वार्तापछि १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।द्विपक्षीय वार्ताको क्रममा चिनियाँ प्रधानमन्त्री ली छियाङ्ले चीन–नेपाल सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्री प्रचण्डको विशेष योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।उहाँले प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्ता फलदायी रहेको टिप्पणी गर्नुभयो ।रणनीतिक साझेदारीको सहकार्यसहित नेपाल चीनसम्बन्धमा राष्ट्रपति सी को २०१९ मा भएको नेपाल भ्रमणदेखि नयाँ आयाम एवम् उचाइ थपिएको बताउनुहुँदै नेपालको विकासका लागि सहकार्य गर्न चीन सदैव तत्पर रहेको भन्नुभयो ।प्रधानमन्त्री प्रचण्डले नेपाल अहिले सामाजिक एवम् आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य छिटो टुङ्गोमा पुर्याउन नेपालले काम गरिरहेको बताउनुभयो ।द्विपक्षीय वार्ता अघि प्रधानमन्त्री प्रचण्डको स्वागतार्थ चिनियाँ जनमुक्ति सेनाले सैनिक सलामी, गार्ड अफ अनर दिइएको थियो ।यसअघि चीनको राष्ट्रिय काग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेचिसँग पनि प्रधामन्त्री प्रचण्डले भेट गर्नुभएको थियो ।अध्यक्ष झाओका अनुसार चीनले प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई विशेष महत्त्व दिएको छ । चिनियाँ कांग्रेस नेपालको विकासका लागि सहकार्य गर्न तत्पर रहेको उहाँले बताउनुभयो ।