
नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहद्वारा मारिएका पाँचजना नेपालीको शवको प्रमाणीकरणको काम सुरु भएको र सकिने बित्तिकै नेपाल ल्याइने बताउनु भएको छ ।सुदूरपश्चिम पत्रकार समाजद्वारा आज सोमबार यहाँ आयोजित दसैँ, तिहार, छठ तथा नेपाल सवतकाे अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । इजरायल घटनामा सबैभन्दा बढी क्षति सुदूरपश्चिमलाई भएको चर्चा गर्नुहुँदै नेपालीको उद्धार तथा अन्य काममा सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।हमास समूहले बन्धक बनाइ बेपत्ता पारेको भनिएको विपिन जोशीको पहिचानका लागि सरकारको तर्फबाट सबै पहल भएको र अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घ संस्थालाई समेत त्यसका लागि आग्रह गरिएको उहाँले प्रष्ट पार्नुभयो । त्यहाँ रहेका नेपाली विद्यार्थी सरकारको सम्पर्कमा रहेको र थप विद्यार्थी पनि अनलाइनमार्फत सम्पर्कमा आइरहेकाले आवश्यक परेमा जतिसुकैबेला नेपाल ल्याउन सरकार तयार रहेको उहाँले बताउनुभयो ।सो अवसरमा मन्त्री साउदले सुदूरपश्चिम प्रदेश विकासको दृष्टिकोणले अझै पछाडि रहेको चर्चा गर्नुहुँदै सबैको सामूहिक प्रयास र पहलले त्यहाँको विकास हुने बताउनुभयो । सुदूरपश्चिम प्रदेश रिसोर्सको हिसाबले सबैभन्दा धनी भए पनि त्यसको सही सदुपयोग गर्न नसकिएको उहाँले चर्चा गर्नुभयो । विकासको काम क्रमिक रूपमा भइरहेकाले त्यहाँका राजनीतिक दल, सुदूरपश्चिमवासी, पत्रकार, तीनै तहका सरकारको सामूहिक पहलले सुदूरपश्चिम समृद्ध बनाउन सकिने उहाँले बताउनुभयो ।काठमाडौँलाई केन्द्र मान्दा सुदूरपश्चिम सबैभन्दा दुर्गम भए पनि देशको हिसाबले सुदूरपश्चिम टाढा नरहेको उहाँले चर्चा गर्नुभयो । त्यहाँको समग्र विकासका लागि धार्मिक पर्यटकीय क्षेत्रको यथोचित विकास गर्न सके वर्षमा दसौँ लाख धार्मिक पर्यटक सुदूरपश्चिममा भित्र्याउन सकिने उहाँले बताउनुभयो ।नेकपा (एमाले) का युवा नेता बचनबहादुर सिंहले सुदूरपश्चिमको समृद्धिका लागि सबै राजनीतिक दल, नेता, सरकार, पत्रकार तथा मिडिया र सुदूरपश्चिमवासीको सामूहिक प्रयासको खाँचो रहेको बताउनुभयो । त्यहाँको मुद्दा पहिचान र राष्ट्रिय एजेण्डामा पार्न पनि पत्रकारले भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो ।नेकपा (माओवादी केन्द्र) का संसदीय दलका सचेतक रुपा सोसी चौधरीले सुदूरपश्चिममा अथाह सम्भावना भए पनि विकास गर्न नसकिएकाले सबैले त्यहाँको विकासका लागि गम्भीर बन्नुपर्ने बताउनुभयो । दसैँमा घर जाने सुदूरपश्चिमवासीलाई चर्को भाडा कायम गरिएकाले पीडा भएको भन्नुहुँदै त्यसमा ध्यान दिन उहाँले सरकारसँग आग्रह गर्नुभयो ।




























