
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।प्रमुख महर्जनले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर नजिकमा हुने कन्सर्टहरु बन्द गराएको बताउनुभयो । कन्सर्टहरु बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तुहरु आरामसाथ निदाउन पाएको उल्लेख गर्नुभयो । उहाँले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै लितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार रहेको बताउनुभयो ।प्रमुख महर्जनले भन्नुभयो, ‘‘यस पटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ । म मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर त्यहाँ ठूलो ठूलो कन्सर्टहरु हुन्थ्यो, मध्यरातसम्म, बाघ भालुलाई सुत्नै डिस्टर्ब हुनेगरी । तसर्थ मैले त्यो, बन्द गरिदिएँ । अहिले बाघ भालु आनन्दसँगले सुतिरहेका छन् । यसमा सुधारका धेरै आयमहरु छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।’’प्रमुख महर्जनले ललितपुर महानगरलाई आगामी दुई वर्षभित्र नमूनास्तरको बनाउने बताउनुभयो ।




























