
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । त्यस अगावै राजीनामा दिएका हुन् ।यो संगै कोशी प्रदेश सरकारमा तीन वटा सरकार बनाउने बाटो बन्द भएको छ । अब सरकार बनाउने एउटा मात्रै बाटो छ । कुनै पनि दलको एकल बहुमत नभएकाले सुरुमै दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार बनेको थियो । उक्त सरकार ढलेपछि सबैभन्दा ठूलो दलको सरकार बन्यो । सबैभन्दा ठूलो दलको सरकारले विश्वासको मत नलिएर राजीनामाको बाटो रोजेपछि सरकार बनाउने विकल्प र बाटाहरु सकिँदै गएर एउटा मात्रे बाँकी रहेको छ ।अब संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ ।’ यो सरकारको नेतृत्वका लागि दाबी प्रस्तुत गर्दा र विश्वासको मत लिँदा दलीय ह्वीप लाग्देन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बसे कोशी प्रदेशमा नयाँ सरकार बन्न सक्दैन र मध्यावधि चुनाव हुन्छ । राप्रपा खुलेको अवस्थामा अब एउटा सरकार बन्न सक्छ । यस सम्बन्धमा निर्णय गर्ने अधिकार राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सुम्पेको छ ।नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा फेरि पनि सरकारको नेतृत्वमा कांग्रेसको दाबी स्वाभाविक रहने बताउँछन् । तर, गठबन्धनको निर्णय मान्ने उनको जवाफ छ । भन्छन्, ‘एमालेसँग सहकार्यको सम्भावना छैन । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी वा जसपाको गठबन्धनले जे निर्णय गर्छ त्यस आधारमा अगाडि बढ्छौं ।’नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेपछि गठबन्धन दलबिच छलफल गरेर मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाउने बताउँछन् ।‘मध्यावधि रोक्न र सहमतिको स्थायी सरकार बनाउन हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्छ । अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ’ आङ्बोले भने । यसअघि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि माओवादीले एमालेसँगको सहकार्य तोडेको, सभामुखलाई राजीनामा गराएर त्याग गरेको उनको भनाइ छ ।राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला सल्लाह गरेर अगाडि बढ्ने बताउँछन् । उनी भन्छन्, ‘मध्यावधिमा जाने अवस्था बन्दैन । राप्रपा समन्वय, सहयोग गर्ने भूमिकामा रहनेछ । अघिल्लो पटक जस्तो उपसभामुख बिरामी हुने वा ज्येष्ठ सदस्यहरू अनुपस्थिति हुने खालको परिस्थिति बन्दैन ।’




























