काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत शनिबार इलाम क्षेत्र नं २ मा अपेक्षाभन्दा कम मतदान भएको छ ।विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिँदा ५७ प्रतिशत अर्थात करिब ६६ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उक्त निर्वाचन क्षेत्रमा मतदाता संख्या १ लाख १५ हजार ८ सय ८९ छ ।यहाँका छ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने उहाँले जानकारी दिनुभयो । सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको उहाँले बताउनुभयो ।मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने जानकारी पनि उहाँले दिनुभयो । मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।मतपेटिका संकलन गरेर इलाम बजारस्थित सिटी हलमा राखिने भएको छ । मतगणनाका लागि सिटी हलमा तारजालीसहित सीसीटीभी क्यामरा जडान गरिएको छ । मतगणना दुई ठाउँमा गर्ने तयारी छ ।कूल ५९ दशमलव ७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।