
काठमाडौं | सोह्र श्राद्ध शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो। मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ ।सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन् । यो वेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ ।आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन् । तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ ।चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।सोह्रश्राद्धका अवसरमा काठमाडौँ उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धाभावकासाथ श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ। पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैँ शुरु हुन्छ।




























