काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ ।राखेप भवन त्रिपुरेश्वरमा स्थापना गरिएको सचिवालयको बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभयो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ यहि चैत्र २३ गतेदेखि ३० गतेसम्म कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद २०८१ आयोजना हुँदैछ ।राष्ट्रिय खेलकुदलाई सफल बनाउनका लागि आवश्यक कामकाजलाई सहजीकरण गर्न काठमाडौंमा नै सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । सचिवालयको उद्घाटन गर्दै खेलकुदमन्त्री चौधरीले माघ ३ गते राखेप बोर्डको बैठक बोलाइएको र बैठकमा १० औँ राष्ट्रिय खेलकुदका बिषयमा विस्तृत छलफल हुने जानकारी दिनुभयो ।उहाले राष्ट्रिय खेलकुदलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बजेटको अभाव नहुने भन्दै यसअघिको भन्दा भव्य रुपमा सम्पन्न गर्ने जिकिर गर्नुभयो । मन्त्री चौधरीले २७ वटा संघमध्ये कतिपय संघहरु सक्रिय नरहेको अवस्थामा संघलाई कारवाही गरेको र त्यसकै कारण प्रशिक्षक र खेलाडीहरुलाई कुनै असर नपर्ने बताउनुभयो ।त्यस्तै राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुदका लागि प्रदेशले छनौट कार्यलाई अन्तिम चरणमा पुराएको बताउनुभयो । प्रतियोगीतामा सहभागी बिभिन्न टोलीलाई आवश्यक बजेट उपलव्ध गराउने र टोली व्यवस्थापनको जिम्मेवारी पनि उनीहरुलाई नै दिइने जानकारी दिनुभयो ।१० औँ राष्ट्रिय खेलकुदमा यसअघिको भन्दा पनि बढिको संख्यामा टोली र खेलाडीहरुलाई सहभागीता गराउने राखेपले जनाएको छ ।