
क्वेटा, पाकिस्तान, माघ २४ गते । दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।क्वेटा सहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै आक्रमण भएको थियो ।क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने, “१२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।”“प्रारम्भिक अनुसन्धानले मोटर साइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको देखिएको छ,” उहाँले भन्नुभयो ।प्रान्तका कार्यवाहक सूचनामन्त्री जान अचकजाईले मृतकको सङ्ख्या पुष्टि गर्दै भन्नुभयो, “यो विस्फोटमा १२ जनाको मृत्यु भएको छ र २५ भन्दा बढी घाइते भएका छन् ।”निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधबारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ ।सन् २०१८ को चुनावपछि स्थापित बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार वर्षपछि अविश्वासको प्रस्तावमार्फत सत्ताबाट पदच्युत गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्रीबाट हटाइनु भएका र हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको पार्टी तथा नेताहरूलाई विभिन्न अभियोग लगाउँदै निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको छ ।बिहीबारको मतदानको दौडान धेरै सुरक्षा घटना पनि भएका छन्, जसमा कम्तीमा दुई उम्मेदवारको गोली हानी हत्या भएको छ र दर्जनौँलाई देशभरि आक्रमणहरूमा निशाना बनाइएको छ ।स्थानीय समयअनुसार बिहीबार बिहान ८ः०० बजे मतदान सुरु भई साँझ ५ः०० बजे मतदान सम्पन्न हुनेछ ।लाहोरमा, निर्वाचन अधिकारीहरूको एक समूहले प्रहरीको साथमा मतदान सामग्रीहरूको बोराहरू केन्द्रीय वितरण केन्द्रबाट उनीहरूको मतदान केन्द्रहरूमा लैजानको लागि सङ्कलन गरेको देखिएको थियो । रासस–एएफपी



























