
काठमाडौं । हालै सम्पन्न निर्वाचनमा दुईतिहाइ सिट जित्दै स्पष्ट जनादेश प्राप्त गर्नुभएका तारिक रहमानले ११ फागुनमा बंगलादेशका प्रधानमन्त्रीका रूपमा शपथ लिने हुनुभएको छ । बंगलादेश राष्ट्रिय पार्टीका अध्यक्षसमेत रहनुभएका रहमानले सोही दिन मन्त्रिपरिषद्का सदस्यहरूसहित सामूहिक रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।बेलायतबाट प्रकाशित लोकप्रिय बंगलादेशी पत्रिका प्रथम आलोले स्रोत उद्धृत गर्दै शपथ समारोह ११ फागुनमा आयोजना हुने पुष्टि गरेको हो । बंगलादेशको राष्ट्रिय संसद्को साउथ प्लामा यो शपथ समारोह हुनेछ । विगतमा शपथ समारोह बंगभवनस्थित दरबार हलमा हुने गरेको थियो । यो राष्ट्रपतिको आवास पनि हो । तर, यसपटक ठूलो संख्यामा अतिथि निम्त्याइएका कारण जातीय संसद् भवनको दक्षिण प्लाजामा समारोह राखिएको छ । जहाँ व्यापक जनसहभागिता र कडा सुरक्षा व्यवस्थासहित समारोह सम्पन्न गरिने तयारी छ ।शपथ समारोहमा दक्षिण एसिया तथा मध्यपूर्वका विभिन्न देशका प्रतिनिधिहरूलाई निमन्त्रणा पठाइएको छ ।ढाकाले यस समारोहमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न १३ देशका नेताहरूलाई निमन्त्रणा पठाएको हो ।नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, चीन, साउदी अरेबिया, टर्की, संयुक्त अरब इमिरेट्स (युएई) कतार, मलेसिया तथा ब्रुनाईका उच्चस्तरीय प्रतिनिधि समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ ।




























