
राष्ट्रपति जो बाइडनले युक्रेन युद्ध एक वर्ष पुगेको अवसरमा त्यस देशको भ्रमण गर्दा अमेरिकामाथि आएको थप गम्भीर चुनौती उजागर भएको छ । आणविक हतियार भएका मुलुक रुस र चीनविरुद्ध अमेरिकी द्वन्द्वको नयाँ युग आरम्भ भएको संकेत बाइडन भ्रमणसँगै विकसित घटनाक्रमले दिएको छ ।बाइडन सोमवार एयर रेड साइरनहरू बजिरहँदा नाटकीय रूपमा किएभको भ्रमणमा पुगेका थिए । त्यसको भोलिपल्ट पोल्यान्डको रानधानी वार्सामा उनले दमदार भाषण गर्दै रुसविरुद्ध युक्रेनको प्रतिकारलाई पश्चिमले गरिरहेको समर्थनलाई थप टेको दिए अनि राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिधै आलोचना गरे ।उता पुटिनले चाहिँ वार्षिक सम्बोधन कार्यक्रममा युक्रेन युद्धलाई पश्चिमविरुद्धको बृहत्तर अस्तित्वगत लडाइँका रूपमा प्रस्तुत गरे । युक्रेनलाई अमेरिकाले लामै समयसम्म साथ दिने भनी बाइडनले प्रतिज्ञा गर्दा पुटिनको सम्बोधनमा त्यो लामो समय कति लामो हुनेछ भन्ने कुरामा जोड दिइएको थियो ।वर्षौंसम्म युद्ध लम्बिइरहने सम्भावना यसबाट प्रकट भएको छ । यसले युक्रेनका पक्षमा पश्चिमी सरकार र जनताको प्रतिबद्धताको अग्निपरीक्षा लिनेछ ।महाशक्ति प्रतिस्पर्धा चर्किंदै जाँदा चीनले आफ्नै रणनीतिक खेल खेल्न खोजेको देखिन्छ । उसले आफ्ना शीर्ष कूटनीतिकर्मी वाङ यीलाई उच्चस्तरीय वार्ताका लागि मस्को पठाएको छ भने यही बेलामा जासूसी बलूनका विषयमा चीन र अमेरिकाबीचको द्वन्द्व कायम छ ।यस हप्तामा भएका यी घटनाक्रमले अमेरिकालाई बेइजिङ र मस्कोबाट भविष्यमा हुने राष्ट्रिय सुरक्षा जोखिम उस्तै हुनेछ भन्ने अर्थ निस्कँदैन । युक्रेन युद्धले रुसको कमजोरीलाई प्रायः उजागर गरेकै छ भने चीनको उदीयमान शक्तिले यस शताब्दीमा वाशिङटनलाई व्यस्त बनाइरहनेछ ।source:Lokaantar




























