
पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।इक्वेडर जाने प्रयास गरिरहेका ती आप्रवासीले मानव तस्करलाई पैसा तिरेर उनीहरूलाई देशभरि र उत्तरी सीमासम्म पुर्याएको अभियोजनकर्ताहरूले बताएका छन् ।तर पेरू–ब्राजिल सीमामा पर्ने माद्रे दे डायोस विभागको इनापारी गाउँमा उनीहरूले आफ्नो पैसा ठगेर एउटा घरमा अलपत्र छोडेको सरकारी वकिलको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई खाना र उचित बासको प्रबन्ध नगरिकन सबै जनालाई एउटै घरमा छोडिदिएको विज्ञप्तिमा उल्लेख छ ।यसरी त्यहाँ छोडिएकामध्ये दुई महिनाको शिशुसहित चार जना बालबालिकाको मृत्यु भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । अभियोजनकर्ताहरूले आप्रवासीहरूले तस्करहरूलाई कति रकम तिरेका थिए भन्ने बारे केही बताएका छैनन् ।इक्वेडरसँगको पेरूको उत्तरी सीमा नजिकैको टम्बेस शहरमा जानुअघि अफगानीहरूलाई क्षेत्रीय शहरमा स्थानान्तरण गरिने र त्यसपछि राजधानी लिमामा लगिने विश्वास दिलाइएको थियो । रासस/सिन्ह्वा




























