
अमेरिकी क्यापिटल दंगाको गरेको आरोपमा ‘द प्राउड ब्वाईज’का पूर्व नेतालाई २२ वर्षको जेल सजाय सुनाइएको छ ।अमेरिकाको वाशिङटन संघीय अदालतले ३९ वर्षका एनरिक टारियोलाई देशद्रोहको षड्यन्त्रसहित विभिन्न आरोपमा सजाय सुनाएको हो । टारियो दंगाको समयमा वाशिंङटनमा थिएनन् । तर उनले समूहको संलग्नतालाई व्यवस्थित गर्न मद्दत गरेको उल्लेख छ ।उनी यो दंगाको मुख्य योजनाकारमध्ये एक हुन् । सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल दंगामा टारियोको योजनामा ‘द प्राउड ब्वाइज’ नामको कट्टरबादी समूह बनाइ आक्रमण गरिएको खुलेको छ । घटनामा एक हजार एक सय जना पक्राउ परेका थिए ।टारियोले मुद्दाको सुनुवाइको क्रममा सुरक्षाकर्मी र वाशिङटन डीसीका बासिन्दासँग भावुक भइ माफी मागेका थिए । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकी राष्ट्रपतीय चुनावलाई संसदले अनुमोदन गर्ने दिन आक्रमण गरेका थिए ।अमेरिकी इतिहासमा लोकतन्त्रविरुद्धको आक्रमणमा यति लामो समयको सजाय दिइएको यो पहिलो पटक रहेको बीबीसीले जनाएको छ ।




























