
पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ह्वात्तै बढेर एक हजारभन्दा बढी पुगेको छ ।शनिबार गएको ६.३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा परेको थियो ।“दुर्भाग्यवश, हताहतको सङ्ख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,” सरकारका उपप्रवक्ता बिलाल करिमीले आइतबार भन्नुभयो ।उहाँले एएफपीसँग भन्नुभयो, “मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी छ । उद्धारको धेरै प्रयासहरू भइरहेका छन् । आइतबार प्राप्त आँकडाले हताहत हुनेको सङ्ख्या यो भन्दा निकै धेरै पुग्ने अनुमान गरिएको छ ।”जिन्दा जान जिल्लाको सर्बोल्याण्ड गाउँमा शनिबार रात परेपछि एएफपीका एक संवाददाताले भूकम्पको केन्द्रविन्दु नजिकै दर्जनौं घरहरू भत्किएको पुष्टि गर्नुभएको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।प्रत्यक्षदर्शी स्थानीय ४२ वर्षीय बशीर अहमदले भूकम्पको पहिलो झट्कामा सबै घर भत्किएका र घरभित्र रहेकाहरू पुरिएका थिए । उहाँले भन्नुभयो “अझै धेरै हामीले कुनै खबर नसुनेका परिवारहरू छन् ।” रासस/एएफपी




























