
विराटनगर, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ । गठबन्धबाट उम्मेदवार बन्नुभएका सिटौलाले नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्नुभयो ।प्राप्त मतपरिणाम अनुसार नेता सिटौलाले ५२९२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी राप्रपाका उद्धव पौडेलले ४५६२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उम्मेदवार पर्शुराम अधिकारीले १४८ मत प्राप्त गर्नुभएको छ ।नेता सिटौलाले कुल ९३ जना प्रदेश सभा सदस्य मध्ये ४५ जनाको मत प्राप्त गर्नुभयो भने पौडेलले ४७ जनाको मत प्राप्त गर्नुभयो । एक मत भने बदर भएको थियो ।यस्तै कोशीबाट राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी कोइरालाले गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै जित निकाल्नुभएको हो ।प्राप्त मतपरिणाम अनुसार कोइरालाले ५०८६ मत प्राप्त गर्दा कार्कीले ४९९२ मत मात्र प्राप्त गर्नुभयो । कार्कीलाई गठबन्धनका तीन जना प्रदेश सभा सदस्यले मत क्रस गरेको गणनाका क्रममा देखिएको थियो ।कूल ९३ जना प्रदेश सभा सदस्य मध्ये कोइरालाले ४९ जना सांसदको मत प्राप्त गर्नुभयो भने कार्कीले ४४ जनाको मत प्राप्त गर्नुभएको थियो । यद्यपि मतपरिणामको औपचारिक घोषणा भने भइसकेको छैन ।




























