काठमाडौं\अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले इन्जिनियरहरुले आफुलाई प्रगतिशिल राजनीतिमा सक्रिय बनाउनुपर्ने बताएका छन् । अखिल क्रान्तिकारीले शुक्रवार ह्वाइटहाउस इन्जिनियरिङ कलेजमा आयोजना गरेको हाजिरजवाफ प्रतियोगितामा बोल्दै उपाध्यक्ष मैनालीले इन्जिनियरहरु देशको मुल नीति बनाउने ठाँउमा हुनुपर्नेमा जोड दिए । उनले संसारभर इन्जिनियरिङ पृष्ठभूमिका व्यक्ति सक्रिय राजनीतिमा रहेको पनि सुनाए । ‘इन्जिनियरिङ यस्तो विधा हो, जसले मानिसका हरेक कल्पनालाई व्यवहारिकरुप दिन्छ, दिँदै आएको छ । साथै हरकोही इन्जिनियरले आफ्नो क्षेत्रमा सकेसम्म राम्रो गर्छ नै र गरिरहेको हुन्छ । यो उसको पेशागत काम हो ।यसबाहेक इन्जिनियर देशको मुल नीति बनाउने ठाँउमा पनि हुनुपर्छ । त्यो भनेको राजनीति हो’, आफैसमेत इन्जिनियर रहेका उपाध्यक्ष मैनालीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र काठमाडौंका मेयर वालेन शाहको उदारण दिँदै भने, ‘इन्जिनियरङ एउटा विज्ञान हो । त्यसैले तपाईं–हामीले गर्ने राजनीति चाहि“ प्रगतिशिल हुनुपर्छ । समाजलाई अग्रगामी बाटोमा लैजाने खालको हुनुपर्छ । तपाईंहरु पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र काठमाडौंका मेयर वालेन शाहलाई पनि हेर्न सक्नुहुन्छ ।’ परम्परागत सोच भएकाहरुले जे–जस्तो ब्याख्या गरे पनि दलित, महिला, उपेक्षित समुदायलाई मूलप्रभावमा ल्याउन भूमिका खेलेको माओवादी नै अहिलेको प्रगतिशिल विचार बोकेको दल रहेको उपाध्यक्ष मैनालीको भनाई थियो । उनले काठमाडौंको सडक विस्तार गर्ने, देशलाई लोडसेडिङमुक्त पार्ने र देशभर सामाजिक जागरण प्रदा गर्ने दलमा इन्जिनियरहरु जोडिनुपर्नेमा जोड दिए ।‘इन्जिनियर भएर जागीर खाने वा विदेश जाने सजिलो काम हो । तर, देश बनेन भनेर गुनासो गरेर मात्र हुँदैन । त्यसैले तपाईं–हामी देशको कानुन बनाउने र देशलाई चलाउने ठाँउ सिंहदरवार पुग्नुपर्छ’, उनले भने, ‘देशलाई सही कानून र शासन व्यवस्था दिन सकियो भने एउटा इन्जिनियरले ठूलो भूमिका खेल्न सक्छ ।’