काठमाडौं सिरहाका प्रतिष्ठित एवं सामाजिक व्यक्तित्व दिनेश कुमार साह र समाजसेवी एवं महिला अभियन्ता हेमा साहले आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपाको काठमाडौं स्थित केन्द्रीय पार्टी कार्यालयमा आज एक कार्यक्रमका बीच उनीहरु आजपामा प्रवेश गरेका हुन् । दुबै जनालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन् । दिनेश हेमालाई पार्टीमा स्वागत गर्दै पार्टी अध्यक्ष साहले पार्टीद्धारा जारी भ्रष्टाचार, अनियमितता एवं दलिय लुटतन्त्र विरुद्धको आन्दोलनमा सक्रिय रुपमा सहभागि हुन आग्रह गरेका छन् ।सो अवसरमा पार्टीका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साह, उपमहासचिव मनोज यादव, स्थायी कमिटी सदस्य सुनिता साह क्रान्ति लगायतको सहभागिता रहेको थियो । यस अघि गत साता सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरत प्रसाद साह आजपामा प्रवेश गरेका थिए । तत्कालिन ६ वटा मधेसवादी दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य समेत रहेका साहले मधेसवादी दलका नेताहरु भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै आजपामा प्रवेश गरेका थिए । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्नेको संख्या बढदै गइरहेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले बताए ।