आजभन्दा करोडौं वर्ष पहिला धर्तीमा दैत्याकार सरीसृपको राज्य थियो । स्वच्छन्द विचरण गर्ने ४५० देखि ६५० क्विन्टल वजन भएका, २० फुटदेखि १२० फुटसम्म लम्बाइ भएका तथा २० फुटदेखि ४० फुटसम्म अग्लो कद भएका यी अनौठा जीवलाई वैज्ञानिकहरु डाइनोसर नामले सम्बोधित गर्छन् । धर्तीमा लगभग १२ करोड वर्षसम्म राज्य गर्ने यी जीव लगभग ७ करोड वर्ष पहिला अचानक नै लुप्त भए । आखिर कहाँ गए यी जीवहरु ?कल्पना गर्नुस् कि छुट्टी मनाउने मुडमा तपाईं कुनै दिन शहरको भीडबाट टाढा निस्कनुहुन्छ । कुनै तलाउको किनारमा आफ्नो पाल टाँग्नुहुन्छ । शान्त, सुरम्य वातावरण, पक्षीको चिरबिर, कुल मिलाएर तपाईं खुशी हुनुहुन्छ वातावरणको सुन्दरतामा । तर तब तपाईंको दृष्टि पानीमा पौडिरहेको कुनै कुरामा गएर रोकिन्छ, जुन करिब २० फुटसम्म माथि उठ्दै जान्छ । ओहो ! यो त कुनै जलीय प्राणी हो ! अब त त्यसको गर्धन पनि देखिन थालेको छ । पानीमा पाइने घाँस मजाले चपाइरहेको त्यो जनावर तपाईंतिर नै बढिरहेको छ, खानेकुरा टिपिरहेका तपाईंको हात मुख नजिकै पुगेर रोकिन्छ र अचानक तपाईंको मुखबाट चिच्याहट निस्कनेछ । सबै कुरा छोडेर तपाईं बेतोडले भाग्न थाल्नुहुन्छ । त्यहाँबाट धेरै पर पुगेपछि मात्र स्वास फेर्नुहुन्छ ।
तपाईं बुझ्ने कोसिस गर्नुहुन्छ कि कुरा के हो, तब त्यो भीमकाय जीव अचानक पानीमा डुबुल्की लगएर तपाईंको दृष्टिबाट ओझेल हुन्छ । हतार–हतार तपाईं आफ्नो सारा सामान बटुलेर घरतिर लाग्नुहुन्छ ।
तपाईं सोचिरहनु हुनेछ कि यस्तो अनौठो जनावर पहिला कहिल्यै देख्नुभएको थिएन । तर आज अचानक यो कसरी देखियो ? थाहा छ, त्यो २० फुट अग्लो गर्धन भएको जीव कुन थियो ? त्यो स्टिगोसार थियो । हामी पनि आफूलाई भाग्यमानी ठान्छौं, यदि स्टिगोसारसँग कुनैबेला आमनेसामने हुनसके । तर हामी सबै यो मामलामा अभागी नै छौं, कहिल्यै पनि हामीले यो विचित्र जीवको दर्शन पाउन सक्नेछैनौं, किनकि यी जीव अब समयको नियन्त्रण बाहिर छन् । करोडौं वर्ष पहिला नै स्टिगोसार र उसका प्रजाति लोप भैसकेका छन् । आज कतै कतै अवशेषको रुपमा त्यसका हड्डीहरु अवश्य भेटिन्छन् ।
वैज्ञानिकहरुले उत्खनन्बाट पाएका अवशेषको आधारमा ढाँचा खडा गरेर त्यसको प्रतिरुप तयार गरे, त्यसपछि जुन प्रतिरुप अगाडि आयो, त्यो बडो विचित्र र आकर्षक थियो । मानवको सृष्टिभन्दा पहिला धर्तीमा दैत्याकार सरीसृपको एकछत्र राज्य थियो । यी दैत्याकार जन्तु बदलिदो संसारको दौडमा पछाडि परे र सदा सदाको लागि कालको ग्रास बन्न पुगे । तिनीहरुको अवशेषको आधारमा तिनीहरुको आकारको पत्ता लाग्छ । वैज्ञानिकले हजारौं फुटको गहिराइबाट, चट्टानको बीचबाट यी जन्तुको अस्थिपञ्जर खोजेर निकालेका छन् र त्यसैको आधारमा यसको शरीरको बनावटको अनुमान लगाउँदै त्यसको अनुकृतिहरु बनाएका छन् । वैज्ञानिक यसलाई डाइनोसर नामले सम्बोधित गर्छन् । धर्तीमा लगभग १२ करोड वर्षसम्म यी अनौठा जीवको राज्य रह्यो र आजभन्दा लगभग ७ करोड वर्ष पहिला यिनीहरु लोप भए ।
आउनुस्, अब डाइनोसरको युगमा जाऔं र हेरौं, कति रोचक, रोमाञ्चक र विचित्र थियो यी विराट सरीसृपहरुको संसार । यी मध्ये केही शाकाहारी थिए, केही मांसाहारी र केही दुवै प्रकारको शौक भएका । डाइनोसरका चार खुट्टा हुन्थे । कंगारु समान अगाडिको दुई खुट्टा छोटा तथा पछाडिको खुट्टा धेरै ठूला हुन्थे । केही चार खुट्टाले हिंड्थे र केही आफ्नो पछाडिका खुट्टाले मात्र आफ्नो भारी शरीर सम्हाल्थे । यिनको पुच्छर पनि धेरै लामो र वजनदार हुन्थ्यो । डाइनोसर आफ्नो पुच्छरले आफ्नो स्थूलकाया शरीरको सन्तुलन गथ्र्यो ।
डाइनोसरको प्रारम्भिक वंशावलीका जन्तु अपेक्षाकृत कम लामा हुन्थे । प्रारम्भिक डाइनोसरमा प्लेटियोसोर करिब २० फुट लामो थियो । यो पूर्णतः शाकाहारी थियो अर्थात् केवल वनस्पतिहरुबाट आफ्नो निर्वाह गथ्र्यो । समय बित्दैजाँदा अरु पनि दैत्याकार डाइनोसर अस्तित्वमा आए । त्यो समयको वातावरण उनीहरुको अस्तित्वको लागि धेरै उपयुक्त थियो । त्यो समय समुद्रको पानी तातो थियो । तपाईं आश्चर्य मान्नुहुन्छ कि जहाँ आज अमेरिका महाद्वीप रहेको अलास्कामा वर्षभर बरफ जमिरहन्छ, त्यो समय त्यहाँ खजूरको वृक्ष उम्रने गर्थे । खानाको लागि वनस्पतिहरु पनि पर्याप्त मात्रामा उपलब्ध थिए । वातावरण तातो थियो, जुन यिनीहरुको लागि लाभदायी सिद्ध भयो ।
जुन समय डाइनोसरले यो धर्तीमा जन्म लियो, त्यो युगलाई मेसोजोइक युग भनिन्छ । त्यो समय सरीसृपको यो धर्तीमा साम्राज्य थियो । तर वातावरणमा एकाएक केही यस्तो परिवर्तन भयो कि त्यसलाई यी दैत्याकार जीवले सहन सकेनन् र फेरि सदाको लागि लुप्त भए ।
डाइनोसरमा ऐलण्टोसोर, ब्रोण्टोसोर तथा टिरेनोसोर प्रसिद्ध भए । ऐलण्टोसोर त धेरै भयानक जन्तु थियो । त्यो करिब २० फुट अग्लो थियो र यसको लम्बाइ थियो, १२० फुट । गर्धन धेरै लामो थियो र वजन ४०० क्विन्टलभन्दा धेरै थियो । यो हिंड्दा जमिन थर्कन्थ्यो ।
ब्रोण्टोसोर त योभन्दा धेरै भयानक थियो । यसको शरीरको लम्बाइ लगभग ७० फुट थियो र वजन लगभग ६५० क्विन्टल थियो । वैज्ञानिकहरुको अनुमान छ, धर्तीमा योभन्दा धेरै वजन भएको कुनै पनि प्राणीको अस्तित्व असंभव थियो । यदि ब्रोण्टोसोर अझ बढी वजनको भएको भए शरीरको भार खुट्टाले थाम्न नसक्नाको कारण मर्नेथियो । यो शाकाहारी जीव थियो । आफ्नो खानाको खोजीमा यो पानीमा, विशेषगरी तलाउमा विचरण गर्नेगथ्र्यो । यसका दुई फाइदा थिए । एक त खाना प्राप्ति र दोस्रो, थलमा हिंड्नमा यसलाई जुन कठिनाइ हुन्थ्यो त्यसबाट यो पानीमा बाँच्न सक्थ्यो र मांसाहारी डाइनोसरबाट आफ्नो रक्षा पनि गथ्र्यो ।
पानीमा सधैं बस्ने डाइनोसरमा स्टिगोसोर तथा डिप्लोडोकसको नाम उल्लेखनीय छ । स्टिगोसोरको वजन करिब १० टन हुन्थ्यो र केवल घाँस आदि खाएर नै आफ्नो पेट भथ्र्यो । डिप्लोडोकस ९० फुट लामो थियो र त्यसको वजन लगभग ३५० क्विन्टल थियो । यो तलाउमा या त्यसको नजिकै बस्थ्यो र यसले पनि आफ्नो पेट घाँसपातले भर्नुपथ्र्यो ।
मांसाहारी डाइनोसरमा एलोसोर धेरै खतरनाक थियो । पुच्छरको टुप्पोदेखि लिएर मुखसम्म यो लगभग ३५ फुट लामो थियो । पछाडिको खुट्टा अगाडिको भन्दा धेरै लामो थियो । मोटो र लामो पुच्छर दौडदा शरीरको सन्तुलन बनाइ राख्थ्यो । यसका दाँत ठूला र तीखा थिए, शाकाहारी डाइनोसरको शिकार गर्नमा सहायक हुन्थे । यसको डरले शाकाहारी डाइनोसर गहिरो तलाउमा गए र त्यहीं बस्न थाले । धेरैको साथ प्रकृतिले र आकारले दिएका छन्, जस्तो स्टिगोसोरको पेट र ढाड हड्डीमा कठोर आवरण हुनु ।
ब्रेक्योसोर शायद त्यो युगको सबैभन्दा विशाल जलीय प्राणी थियो । यसको लम्बाइ ७० फुट थियो, जसमा गर्धन नै करिब ३० फुट लामो थियो । पानीमा डुबिरहँदा पनि यो आफ्नो गर्धन बाहिर निकाली रहन सक्थ्यो ।
डाइनोसरको परिवारमा जलीय र थलीय प्राणीहरु बाहेक केही यस्ता प्राणी पनि थिए, जो हावामा पक्षीझैं उड्न सक्थे । टिरोसोर उड्ने सरीसृप थिए । यसका दुवै अगाडिका खुट्टा डेनोमा बदलिएका थिए । यिनमा टिरेनोडान सबैभन्दा ठूलो थियो । यसको पुच्छर छोटो हुन्थ्यो, दाँत हुँदैनथियो र डेना धेरै लामो लगभग २०–२५ फुटसम्मको थियो ।
तर यी भीमकाय प्राणीहरुको साम्राज्य धेरै दिनसम्म चल्नेवाला थिएन । बिस्तारै उनीहरु सबै लुप्त भए । आज पृथ्वीमा चट्टानको बीचमा गाडिएको उनीहरुको अवशेष मात्र रहेको छ, जसको आधारमा हामी पृथ्वीको आदिकालीन यो गाथा तपाईंलाई सुनाइरहेका छौं । आखिर लगभग १२ करोड वर्षसम्म जल, थल र वायुमा एकत्र राज्य गर्ने यी प्राणी यसरी किन गायब भए !
यसको हल खोज्नमा वैज्ञानिकले धेरै दुःख गरे । कैयौं वैज्ञानिकले आफ्नो मत प्रस्तुत गरेका छन् । तर पनि हामी कुनै निश्चित निष्कर्षमा पुग्न सकेका छैनौं । धेरै वैज्ञानिकको विचार छ कि डाइनोसर लुप्त हुनुमा जलवायुको सबैभन्दा ठूलो हात थियो । मेसोजोइक युगको अन्त्यमा पृथ्वीको अधिकांश भू–भागमा एकाएक ठूलो परिवर्तन आयो । अलास्का जस्तो देश, जहाँ खजूरको वृक्ष उम्रने गथ्र्यो, बरफले ढाकियो । डाइनोसर चिसो रगत भएका जन्तु थिए, जसको शरीरको ताप वातावरणको ताप अनुकूल बदलिरहन्थ्यो, अतः धेरै चिसो सहन गर्न नसक्नाको कारण उनीहरु नष्ट भए । यस्तो परिस्थितिमा यी दैत्याकार जीवले आफूलाई लुकाउने स्थान पाउन सकेनन् । अतः साना सरीसृप नै बाँचे, जो आफूलाई लुकाउन समर्थ थिए । यथार्थमा डाइनोसरले टाउको लुकाउने स्थानको खोजी गर्न पनि कसरी सक्थे ? किनकि डाइनोसर महामूर्ख जन्तु थिए । उनीहरुको मस्तिष्क उनीहरुको शरीरको तुलनामा धेरै सानो र कमजोर थियो । डाइनोसरको शरीर उसको मस्तिष्कभन्दा लगभग २५,००० गुणा भारी थियो ।
केही वैज्ञानिकको विचार यस्तो पनि छ कि त्यो समयमा केही स्तनपायी जीवको आविर्भाव भयो, तिनले यिनीहरुका अण्डा खान थाले । फलतः डाइनोसर लुप्त भए । खाद्याभाव, जलवायु–परिवर्तन, शक्तिशाली र हिंस्रक जीवको उद्भवको कारण डाइनोसर विलुप्त भए । भारत भूमिमा ज्वालामुखीय विस्फोट हुनु पनि एक कारण हो । यो कुराको पुष्टि ऐतिहासिक र वैज्ञानिक रुपमा भैसकेको छ । तर प्रश्न यो उठ्छ कि सिर्फ भारत भूमिका डाइनोसर मात्र त्यो कालखण्डमा विलुप्त भए, बरु अफ्रिका, अमेरिका, रुस र फ्रान्स सबै भू–भागबाट पनि किन लुप्त भए ?
उल्का झर्नु र डाइनोसरको विलुप्तिको तालमेल केही वैज्ञानिकहरु मिलाउने गर्छन् । उल्का पिण्डमा कार्य गरिरहेका वैज्ञानिक प्रोफेसर भण्डारीको यस बारेमा भनाइ छ–
“डाइनोसरको विलुप्तिको सन्दर्भमा हामीले अन्तरिक्षीय या ब्रह्माण्डीय घटनाहरुमा यो गूढ रहस्यको हल खोज्नु पर्नेछ । जस्तो कि सर्वविदित नै छ, धर्तीमा प्रायः धूमकेतु र उल्काहरुले उत्पात मच्चाइरहन्छन् । यस्तो संभव छ कि लगभग १०० किलोमिटर व्यासको विशाल उल्का पिण्ड, जो हर १० करोड वर्षमा एक पटक धर्तीमा बज्रझैं खस्छ, त्यो समय खसेको होला, जब डाइनोसर धर्तीमा विचरण गरिरहेका थिए । उल्कापातको प्रभावमा वातावरणमा क्रान्तिकारी परिवर्तन, अचानक जलवायु परिवर्तन, सूर्यको प्रकाश उल्कापातद्वारा उत्पन्न धूलोले रोकिनु, पृथ्वीको तापमा असाधारण वृद्धि आदि सम्मिलित छन् । धेरै संभव छ कि डाइनोसरको यो महाप्रयाणको लागि यो उल्कापात नै जिम्मेदार रहेको हुनसक्छ ।”
बर्कले (अमेरिका) विश्वविद्यालयका प्रोफेसर लुई अल्वारेजको नेतृत्वमा एक शोध–दलले इरिडियम नामक एक विरल तत्वको उपस्थितिलाई डाइनोसरको विलुप्तिको लागि महङ्खवपूर्ण मानेको छ । वास्तवमा यो तत्व धर्तीको सतहमा उपस्थित शैलमा पाइँदैन । यो चन्द्र सतह, धूमकेतु तथा उल्कामा अवश्य पाइन्छ र यहाँसम्म कि धर्तीको गर्भमा पनि । ६–७ करोड वर्ष पुरानो जीवाश्म (जुन डाइनोसर युगको समाप्तिको साक्षी हो) ले यो इंगित गर्छ कि उनीहरुमा इरिडियम धेरै मात्रामा रहेको थियो । यही नाताले धूमकेतु, उल्का पिण्ड, धर्तीको गर्भमा रहेको इरिडियम तथा डाइनोसरको विलुप्तिको बीच एक समीकरण अवश्य बन्छ ।
शिकागो विश्वविद्यालयका डेभिड रोफ र जोन सेकास्कीका आप्mना केही विचार छन् । धर्तीको धूमकेतुसँगको भिडन्तलाई नै ती वैज्ञानिक द्वय डाइनोसर लुप्त हुनुको कारण मान्छन् । यिनको यो दावा छ कि “डाइनासरको सामूहिक विनाश लगभग हरेक अढाई करोड वर्षपछि भैरहेको थियो । यस्तो खालको नियमित अन्तरालमा घट्ने परिघटना पृथ्वीबाट बाहिर सुदूर अन्तरिक्षीय व्यवधानबिना असम्भव छ ।” यिनीहरुको भनाइ यो पनि छ, “कैयौं धूमकेतु, जुन सौर्य परिवारको सदस्य हुन्, तर सूर्यभन्दा धेरै पर छन्, घुम्दा–घुम्दै पृथ्वीको गुरुत्वाकर्षण सीमामा प्रवेश गर्छन् । यस्तो भएमा त्यसको धर्तीसँगको ठोक्काइ अथवा मुडभेड अवश्यम्भावी हुन्छ । २.६ करोड वर्षको अन्तराल धूमकेतु र पृथ्वीको टकराव पनि भएको छ र डाइनोसरको नियतकालिक विलोप पनि ।
सत्य त यो हो कि अझैसम्म हामीले यो कुरा बुझ्न सकेका छैनौं । कदाचित डाइनोसर विशेषज्ञ डा. कोलवर्ट ठीकै भन्छन् । आफ्नो पुस्तक ‘द एज अफ रेपटाइल्स’ अर्थात् सरीसृपको युगमा उनी लेख्छन्ः “एकै समयमा विश्वको सबै भागमा पाइने सबै प्रकारका ठूला र साना डाइनोसरहरु विलुप्त भए । यो एक जटिल र पृथ्वीको इतिहासमा ठूलो गम्भीर दुर्घटना थियो । अझैसम्म यो दुर्घटनाको सही कारण पत्ता लाग्न सकेको छैन ।”
फेरि पनि यो विलुप्त हुनुको सर्वमान्य कारण वातावरणको परिवर्तन नै हो । जुन जीवधारी आफूलाई वातावरण अनुकूल ढाल्नमा समर्थ हुन सक्दैनन्, ती जीवित रहन सक्दैनन् । केवल तिनै जीवधारी रहन सक्छन्, जसले पर्यावरणको प्रतिकूल परिस्थितिको सामना सजिलै गर्न सक्छन् । बाँकी जीवधारी नष्ट हुन्छन् ।
त्यो युगपछि तमाम प्राणी अस्तित्वमा आए, जसको शरीर वातावरण अनुकूल थियो । मानव उनीहरुमध्ये सबैभन्दा धेरै योग्य र विकसित प्राणी हो । यसको पछाडिको सबैभन्दा ठूलो कारण हो–मानवीय मस्तिष्क ठूलो एवं सुविकसित हुनु । डाइनोसर लुप्त हुनुको अर्को एक कारण पनि थियो, त्यो हो, ऊ महामूर्ख जन्तु थियो, त्यसैले यसले बदलिंदो परिस्थिति अनुरुप आफूलाई ढाल्न सकेन र काल परिवर्तित भयो ।