
काठमाडौं । संसदीय सुनुवाइ समितिले बिभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सुरु गरेको छ ।समितिले आइतबारबाट बिभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गरेको हो । आइतबार चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओली, डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरलगाएतसंग समितिले सुनुवाई गरेको थियो । सो क्रममा प्रस्तावित राजदूतहरुले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेको थियो । चीनका लागि प्रस्तावित नेपाली राजदूत ओलीले चीन–नेपालबीच भएका सम्झौता कार्यान्वयनमा आफुले पहदकदमी लिने बताउनुभयो । नेपालका विभिन्न क्षेत्रहरुमा चिनिया लगानी प्रवर्द्धन गर्न पहल गर्ने, नाका खोल्ने र खोलेका नाकालाई व्यवस्थीत गर्नका लागि पनि आफुले काम गर्ने उहाले बताउनुभयो ।१७ देशका लागि प्रस्तावित राजदूतबिरुद्ध समितिमा १० वटा उजुरी परेका छन् । यसअघि समिति शुक्रबार उजुरीकर्ताहरुसंग छलफल गरेको थियो । समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाई गर्ने र भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरि कार्यतालिका बनाएको छ । सरकारले साउन १४ गते बिभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।




























