काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीच कृषि तथा पर्यटन क्षेत्रमा भएको सहमतिले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।नेपालको कृषि तथा पर्यटन विकासमा चीनको विआरआइ फ्रेमवर्कले पुराउने सहयोगका बिषयमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नेपाल र चीनबीच भएका सहमतिले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने भएकाले यसको कार्यान्वयनमा बिशेष जोड दिने पनि बताउनुभयो ।उहाले प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा भएको सम्झौताले नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा महत्वपूर्ण हुने धारणा राख्नुभयो ।पशुपञ्छीमा देखिने खोरेत रोगमुक्त क्षेत्र घोषणाका लागि इलामबाट काम सुरु भइसकेको र अन्य जिल्लामा विस्तार गरिने उहाले बताउनुभयो । उहाले बनस्पति निर्यातका लागि चीनको भन्सारसंग समन्ँवय गरिएको जानकारी दिनुभयो ।त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नयाँ प्रविधिको प्रयोग गर्दै विआरआइ फ्रेमवर्कका परियोजनाहरुलाई अघि बढाउने बताउनुभयो । मुलुकको पर्यटन क्षेत्रका बिकास पनि चीनले बिभिन्न कार्यक्रमहरु अघि सारेको भन्दै उहाले यसले दुईदेशबीचको पर्यटनसम्बन्ध समेत विस्तार हुने बताउनुभयो ।कार्यक्रममा नेपाल–चाइना फ्रेन्डसिप फोरमका अध्यक्ष डा कल्याणराज शर्मा लगाएतले बिआरआईसँग सम्बन्धित लगानीले नेपाललाई पुराउने फाइदाका बारेमा चर्चा गरेका थिए ।