
काठमाडौं। नेपाली कांग्रेसमा विवादका बीच आज विशेष महाधिवेशन आह्वान हुँदैछ ।विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई विशेषका लागि आह्वान गर्न लागेको हो ।
यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनेछ।सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिलेसम्म विशेष महाधिवेशन पक्षमा छैनन्।पुस १८ को केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा वैशाख मसान्तमा १५ औं महाधिवेशन तोकेको थियो।त्यसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका थिए।५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए। तर त्यसअनुसार प्रक्रिया अघि बढेको थिएन।विधानको धारा १७ को २ अनुसार हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ। विधानको यो व्यवस्था बाध्यकारी रहेको बताउँदै महामन्त्रीद्वयले विशेष महाधिवेशन हुने बताइरहेका छन्।
विशेष पक्षधरले महाधिवेशनका लागि यसअघि नै भृकुटीमण्डप ‘बुकिङ’ गरिसकेको छ ।सचिवालयले विशेष महाधिवेशनका लागि विभिन्न समितिहरू पनि गठन गरिसकेको छ ।




























