
नेतन्याहुले आफ्नो लामो राजनीतिक जीवनमा एउटै कुरा दोहोर्याइरहेका थिए, इजरायलको सबैभन्दा ठूलो खतरा इरान हो। उनले अमेरिकी राष्ट्रपतिहरूलाई पटक-पटक इरानविरुद्ध सैन्य हमला गर्न दबाब दिए। ट्रम्पको समयमा उनी सफल देखिए। युद्ध सुरु भयो र धेरैले सोचे, अब इरानको शासन छिट्टै ढल्छ, राम्रा दिन आउँछन् तर त्यस्तो भएन ।अहिले दोस्रो चरणमा पुग्दा इरानले अमेरिकी हेलिकप्टर खसालेको छ । युद्ध फेरि तातिएको छ । ट्रम्प र नेतन्याहु दुवैको हिसाब गलत साबित भएको छ। उनीहरूको नियन्त्रण कमजोर हुँदै गएको छ भने इरानले आफ्नो शक्ति र साहस देखाइरहेको छ। हर्मुजको जलडमरु फेरि बन्द भएको छ। इरानले स्पष्ट पारिदिएको छ कि ऊ अझै पनि अमेरिकालाई ठूलो क्षति पुर्याउन सक्षम छ।ट्रम्प अहिले आफ्नो साख जोगाउन इरानसँग वार्ताको बाटो खोजिरहेका छन्। उनको चाहना छ, इरानले युरेनियम प्रशोधन रोकोस्, आफ्नो समृद्ध युरेनियम भण्डार अमेरिकी नियन्त्रणमा देओस् र आणविक कार्यक्रम पूर्ण रूपमा रोकोस्। शान्ति कायम होस्, तनाव घटोस्। तर यो चाहना पूरा हुन कसैलाई पनि मन छैन। न रुसलाई, न चीनलाई, न इरानलाई र न इजरायललाई नै ।इजरायल किन शान्ति चाहँदैन? किनभने शान्ति भएमा इरान आर्थिक रूपमा बलियो हुन्छ, पुनः शक्तिशाली बन्छ र भविष्यमा फेरि खतरा बन्न सक्छ भन्ने उसको ठम्याइ छ। युद्ध लम्ब्याउँदै जाँदा इजरायलले आफ्नो रणनीतिक लाभ उठाइरहेको छ। खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूको कुरा गर्दा पनि इजरायलको अजेन्डा स्पष्ट देखिन्छ। ऊ चाहन्छ कि अमेरिका त्यहाँबाट पूर्ण रूपमा हटोस् वा कमजोर होस्, ताकि खाडीका देशहरू, साउदी, यूएई, कतार आदि— ले सुरक्षा खोज्दा इजरायलतिर फर्कुन्। हामीले तिमीहरूलाई सुरक्षा दिन्छौं भन्दै इजरायलले आफ्नो प्रभाव विस्तार गर्न चाहन्छ।योभन्दा पनि ठूलो कुरा हो,ग्रेटर इजरायलको परिकल्पना। अझ ठूलो क्षेत्र, अझ बढी नियन्त्रण, अखण्ड इजरायल। युद्धको धुवाँमा यो सपना पूरा गर्न सजिलो हुन् छ। अमेरिकी सैन्य उपस्थिति कम भएमा इजरायलले आफूलाई खाडीको नयाँ सुरक्षा प्रदायकको रूपमा स्थापित गर्न सक्छ र बिस्तारै भू-राजनीतिक मानचित्र आफ्नो अनुकूल बनाउन सक्छ ।अर्कोतिर चीनले पनि खाडीबाट अमेरिकी आधारहरू हटाउन चाहन्छ। इरानले हर्मुजमा आफ्नो पूर्ण नियन्त्रण कायम गर्न चाहन्छ र त्यसबाट राजस्वको नयाँ स्रोत बनाउन चाहन्छ। यी सबै शक्तिहरूको बीचमा इजरायलले आफ्नो खेल खेलिरहेको छ। उसले अमेरिकालाई बाहिरी रूपमा साथ दिएको देखाउँछ तर आन्तरिक रूपमा आफ्नै दीर्घकालीन महत्वाकांक्षा पूरा गर्दै छ ।अमेरिका अहिले आफ्नो सैनिक, आफ्नो प्रतिष्ठा र आफ्नो रणनीतिक हितको मूल्य चुकाइरहेको छ। नेतन्याहुको नेतृत्वमा इजरायलले अमेरिकालाई यस्तो अवस्थामा पुर्याइदिएको छ जहाँ ट्रम्पलाई पनि वार्ता गर्नुबाहेक अर्को विकल्प छैन, तर वार्ता गर्दा पनि इजरायलको असहमति रहन्छ। यो दोहोरो खेल हो।खाडीको यो जटिल जालमा इजरायलले आफूलाई सबैभन्दा चतुर खेलाडीको रूपमा प्रस्तुत गरिरहेको छ । ऊ आफ्नो सुरक्षा र विस्तारको नाममा अमेरिकाको रगत र स्रोत प्रयोग गरिरहेको छ। जबसम्म अमेरिकाले यो आन्तरिक धोकालाई बुझ्दैन, तबसम्म खाडीको आगो निभ्ने छैन। इतिहासले देखाएको छ, जसले आफ्नो मित्रलाई पनि आफ्नै स्वार्थमा प्रयोग गर्छ, ऊ अन्ततः एक्लो पर्छ ।
यो युद्ध मात्र इरान र इजरायलको होइन, यो ठूलो शक्तिहरूको बीचको गहिरो रणनीतिक खेल हो जसमा अमेरिका अहिले सबैभन्दा महँगो मूल्य चुकाइरहेको छ।
पुण्य प्रसाई



























