
काठमाडौं ।
सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरत प्रसाद साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा बुधबार साहले पार्टी प्रवेश गरेका हुन् ।आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनलाई पार्टीमा स्वागत गरेका हुन् । तत्कालिन ६ वटा मधेसवादी दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य समेत रहेका साहले मधेसवादी दलका नेताहरु भ्रष्टाचारमा डुबेको आरोप समेत लगाए ।मधेस सरकारमा मधेसवादी दलकै नेतृत्व रहेको र संघीय सरकारमा पटक पटक मधेसवादी दलका नेताहरु बिभिन्न मन्त्रालयको जिम्मेवारी लिए पनि विकास, सुशासन, समृद्धिको क्षेत्रमा काम नगरी कसरी अकुत पैसा कमाउँने भन्ने धन्दामा लागेको आरोप समेत साहले लगाए ।मधेस सहित देशको समृद्धि, सुशासन तथा विकासका लागि आजपा नै उपयुक्त पार्टी रहेकाले आफू आजपामा प्रवेश गरेको उनले बताए । आजपाले देशैभरी भ्रष्टाचार, अनियमितता, कुशासन, दलिय लुटतन्त्र, गैरकानूनी भन्सार असुल लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेकाले आफूले आजपा पार्टी रोजेको साहले बताए ।




























