
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। हेटौँडामा आयोजित विद्युत् वितरण केन्द्रका प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणालीलाई थप प्रभावकारी र व्यापक बनाउन निर्देशन दिएका हुन्।विद्युतीय भुक्तानीको प्रयोग बढे पनि पछिल्लो समय यसको वृद्धिदर सन्तोषजनक नभएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यसलाई अभियानकै रूपमा अघि बढाउन र जनचेतना जगाउन आग्रह गरे। "डिजिटल भुक्तानी विस्तार हुँदा नागरिकको समय बचत हुनुका साथै प्राधिकरणको प्रशासनिक खर्च घट्छ र बचेको जनशक्तिलाई ग्राहकका अन्य गुनासो सम्बोधनमा परिचालन गर्न सकिन्छ," उनले भने।यसका साथै, मन्त्री श्रेष्ठले विद्युत् ट्रिपिङ (विद्युत् जाने-आउने समस्या) हुँदा ग्राहकलाई पूर्वजानकारी दिन र सेवा चुस्त बनाउनसमेत निर्देशन दिए। विद्युत् चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै उनले विद्युत् संरचनाको नियमित मर्मत, संरक्षण र गस्तीलाई प्रभावकारी बनाउँदै कार्यालय सञ्चालनमा सुशासन र शासकीय सुधारलाई प्राथमिकता दिन वितरण केन्द्र प्रमुखहरूलाई कडा निर्देशन दिएका छन्।



























