
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउनुभएको छ ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्यसम्बन्धी अधिकारलाई व्यहारमा कार्यान्वयन गर्न सरकार प्रतिवद्धत रहेको बताउनुभयो ।गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० श्यया निःशुल्क उपलब्ध गराइएको उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताउनुभयो ।उहाले संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले भक्तपुरको दुवाकोटमा बीर अस्पताल निर्माण कार्य सम्पन्न गर्न सरकारले बिशेष पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रियस्तर शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने बताउनुभयो ।




























