
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडी किन नबढेको भन्दै सरकारसंग प्रश्न गरेका छन् ।संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज (बिहिबार) सिंहदरबारमा बसेको बैठकमा सहभागि प्रतिनिधिसभाका सदस्य समेत रहेका आजपा अध्यक्ष साहले निजगढ अन्र्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले गरिरहेको आलटाल र ढिलासुस्ती प्रति तिखो प्रश्न गरेका छन् ।समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेले मन्त्रालयको आ.ब.२०८१÷८२को कार्यक्रम तथा हालसम्मको प्रगतिको बारेमा विवरण पेश गर्दै सो बिषयमा भएको छलफलमा आजपा अध्यक्ष साहले प्रश्नैप्रश्न उठाएका छन् । मन्त्री पाण्डेले पेश गरेको विवरणमा निजगढ बिमानस्थल निर्माणको प्रगति शुन्य देखाएपछि आक्रोशित साहले सरकारको चरित्रको बारेमा प्रश्न समेत उठाए ।‘के सरकार असफल र असक्षम भएको हो ? ढिलासुस्ती र आलटाल किन ? प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा शुन्य प्रगितले सरकार असफल र असक्षम भएको सावित भयो,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले एउटा विमानस्थल बनाउँन सक्दैन् । प्रगित शुन्य छ भने सरकार सफल भएको र केही गर्ला, आर्थिक सुधार हुन्छ भन्ने कुरा सर्वसधारणले कसरी मान्नुपर्ने ?’नेपाल एयरलाईन्समा घाटैघाटै भएको र जथाभावि भाडा बढाएकोमा सरकारको उनले आलोचना गरे । जथाभावि भाडा किन नियन्त्रण नगरेको भन्दै उनले प्रश्न उठाए । यस्तै बिभिन्न गैरसरकारी प्रतिष्ठानलाई मन्त्रालयले दिने अनुदान रकमको उपयोगिताको बारेमा समेत उनले प्रश्न उठाएका छन् ।यसैगरी आजपा अध्यक्ष साहले धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको रुपमा रहेको र प्रत्येक पाँच बर्षमा लाग्ने बिश्वप्रसिद्ध बाराको गढीमाई मेला, जनकपुरको विवाह पञ्चमीमा पर्यटन मन्त्रालयले के कति बजेट छुटयाएको र के के काम गरेको बारेमा समेत प्रश्न उठाएका छन् । मन्त्रालयले वेवास्ता गर्दा गढीमाई, जनकपुरको बिकास योगदान नगरेकोमा उनले आक्रोश व्यक्त गरे ।पुरातात्विक सम्पदाको पर्यटन मन्त्रालयले संरक्षण नगरेको जथाभावि उत्खनन गर्दै छोड्ने काम गरिरहेको बताउँदै उनले सिम्रौनगढ, मौलापुरको पतौरा, लुम्बिनीमा केही ठाउँमा खन्ने र छोड्ने गरेको प्रति उनले प्रश्न उठाए । पतौराकोे पुरातात्विक संरचना गुप्तकालिन भएको तर मन्त्रालयले संरक्षण गर्नमा हेलच्क्राई किन गरेको भन्दै उनले प्रश्न उठाएका छन् । यसैगरी पर्यटन मन्त्रालयले तय गरेको १०० पर्यटकीय गन्तव्यको बिकास प्रक्रिया कहाँ पुग्यो र के काम भईरहेको छ भन्ने बारेमा समेत साहले प्रश्न उठाएका छन् ।




























